सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानको सिनेमा ‘पठान’ले विश्वव्यापी बक्सअफिसमा ५ सय करोडको आँकडा पार गरेको छ ।

सिनेमाले आफ्नो पाँच दिने विस्तारित विकेन्डमा बलिउडका सम्पूर्ण रेकर्ड तोड्न सफल भएको छ ।

पहिलो विकेन्डमा सर्वाधिक कलेक्सन गर्ने हिन्दी सिनेमाको अग्रस्थानमा ‘पठान’ उक्लिएको छ ।

पाचौं दिनमा हिन्दी भर्सनमा ५८.५० करोड नेट कमाएको सिनेमाको भारत कलेक्सन ६०.७५ करोड रह्यो । भने विश्वव्यापी ११३ करोड ग्रस कलेक्सन गर्न सफल भयो ।

पाँच दिनमा सिनेमाको घरेलु हिन्दी नेट २७१ करोड पुगेको छ । भने तामिल र तेलुगुमा ९.७५ र विश्वव्यापी कलेक्सन ५४२ करोड छ ।

यसअघि ‘केजिएफ: च्याप्टर २’ले चार दिने विस्तारित विकेन्डमा १९४ करोड नेट कमाएको थियो ।

‘पठान’ले हिन्दी भर्सनमा ५५ करोडको ओपनिङ गर्दै अगाडीका रेकर्डपनि तोडेको थियो ।

पाँच दिनको घरेलु नेट कलेक्सनसंगै सिनेमाले ‘द कश्मिर फाइल्स’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।  र सर्वाधिक नेट कलेक्सन गर्ने हिन्दी सिनेमाको सुचीमा १५ स्थानमा उक्लिएको छ ।

‘बाहुबली २’को हिन्दी कलेक्सन उछिन्न सक्ला ?

सुरुवाती पाँच दिनमा बक्सअफिसमा आँधी ल्याएको ‘पठान’को लाइफटाइम कलेक्सन कति पुग्ला ? अहिले चर्चाको विषय बनेको छ ।

हिन्दी भर्सनको मात्र कुरा गर्दा सर्वाधिक कलेक्सनको रेकर्ड ‘बाहुबली २’को नाममा छ । एसएस राजामौली निर्देशित सिनेमाले हिन्दीमा मात्रै ५११ करोड नेट कमाएको थियो । उक्त रेकर्ड उछिन्न ‘पठान’ले अझै २४१ करोड कमाउनु पर्ने हुन्छ ।

यस्तै दोस्रो नम्बरमा रहेको ‘केजिएफ: च्याप्टर २’को (४३४ करोड) उछिन्न १६४ करोड अरु कमाउनु पर्नेछ ।

बलिउड सिनेमाको कुरा गर्दा हिन्दी भर्सनमा सर्वाधिक कलेक्सनको रेकर्ड आमिर खान स्टारर ‘दंगल’संग छ । उक्त सिनेमाले ३८७ करोड नेट कलेक्सन गरेको थियो ।

मिश्रित प्रतिक्रिया पाएको ‘पठान’मा शाहरुखसंगै दीपिका पादुकोण, जोन अब्राहमलगायतका कलाकारहरुको अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com