‘रातो टिका निधारमा’ पोस्टर रिलिज, शिर्ष गीत शुक्रबार

प्रकाशित मिति :   September 11, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – असोज १० गते रिलिज हुने चलचित्र ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर आउट भएका छन् । अशोक शर्मा निर्देशित चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई सर्वाधिक स्थान दिइएको छ ।

पोस्टरमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् ।

दशैँ लक्षित चलचित्रको पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ । जसले दशैँ आएको भान गराउछ । यसै शुक्रबार चलचित्रको शिर्ष गीत सार्वजनिक गरिदैछ । चलचित्र ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’लाई रि रेकर्डिङ्ग भर्सनमा ढालिएको छ ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नृत्य गरेका थिए । रिमेक भर्सनमा साम्राज्ञी र अंकितले नाचेका छन् । गीतको नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले  गरेका  छन् ।

सहदेव ढुंगानाको शब्दमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो । नयाँमा प्रमोद खरेल र मेलिना राई स्वर दिएका छन् । सुपरहिट गीत रिमेक भएकाले ‘रातो टिका निधारमा’ गीत दर्शकको व्यग्र प्रतिक्षामा छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

Facebook Comments