चलचित्र नीति निर्माणका लागि चलचित्रकर्मिहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै ।

प्रकाशित मिति :   July 17, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट –हामी केही चलचित्रकर्मीहरु हिजो माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल बास्कोटालाई वर्तमान चलचित्र क्षेत्रको समस्या र भावी चलचित्र नीति निर्माणका लागि केही सुझाव सहित नेकपा ध्यानाकर्षण पत्र बुझाएका छन् । दीपकराज गिरी, रविन्द्रसिंह बानियाँ, प्रदीप भट्टराई, प्रचण्डमान श्रेष्ठ लगायतका निर्माता तथा वितरकको टोलिले संचारमन्त्री गोकुल बाँस्कोटालाई भेटेको थियो । उक्त भेटलाई चलचित्र क्षेत्रले अर्थपूर्णरुपमा लिएको छ । राष्ट्रिय चलचित्र नीतिले सबैको प्रतिनिधित्व नगरेकाले सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व गराइ एवं आवश्यकता हेरि विदेशी विशेषज्ञको परामर्श लिएर परिमार्जन गर्नुपर्ने माग उक्त टोलीको छ । चलचित्र क्षेत्रमा सक्रिय यी टोलीले सरकारलाई ९ बुँदे मागपत्र बुझाएको छ ।

अहिले काठमाडौंमा र मोफसलमा सुरु भएको बक्सअफिस प्रणाली कार्यान्वयन असफल हुन लागेकाले सावधानी अपनाउन पनि मन्त्री बास्कोटालाई सुझाइएको छ । यस्तै, सुचना तथा संचार प्रविधि मन्त्रालयलाई बक्सअफिसलाई प्रभावकारी बनाउन अन्तराष्ट्रियस्तरमा प्रयोग हुँदै आएका र प्रमाणित सफ्टवेयरको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
अहिलेको सेन्सर बोर्ड दृश्य काँटछाँट गर्ने बढी केन्द्रित भएकाले निषेधको सट्टा विशेषज्ञ सम्मिलित समितिमार्फत कार्यान्वयन विधि बनाएर नियमन तथा वर्गीकरण गर्न माग राखिएको छ । वर्षमा कम्तीमा एउटा अन्तराष्ट्रिय तथा राष्ट्रिय चलचित्र महोत्सव नेपालमा गर्दा सिनेमा प्रवद्र्धन हुने विश्वास उक्त टोलीलाई छ ।

विदेशी चलचित्र छायांकनको सबै प्रक्रिया बोर्ड कार्यालयबाटै एकद्धार नीतिमार्फत अनुमति प्रदान गर्ने वातावरण मिलाउन उक्त डेलिगेसनमा उल्लेख गरिएको  । नेपालको विभिन्न जिल्लाका विकासन्मुख शहर तथा नगरमा चलचित्र हल निर्माणका लागि आवश्यक सहयोग र वातावरणको निर्माण गरि नीजि तथा सामुदायिक क्षेत्रलाई प्रोत्साहन गर्न माग राखिएको छ ।

नेपालमा सञ्चालनमा रहेका सम्पुर्ण चलचित्र हलमा सञ्चालनमा रहेका सेवा प्रदायक टुके तथा इसिनेमा केडिएममा हल सञ्चालक र वितरकबिच भइरहेको मिलेमतो लगायतका सबै किसिमका सिन्डिकेटको अन्त्य गर्न समेत माग संचारमन्त्रीसँग गरिएको छ । सिनेमा निर्माणका लागि आवश्यक पर्ने प्रप्सहरु सहज उपलब्ध गराउनका लागि कार्य्विधि तथा छुट लगायतका कार्य गर्न आग्रह गरिएको छ । यस्तै, राष्ट्रिय चलचित्र पुरस्कार वितरणमा निश्चित मापदण्ड र कार्य्विधि बनाएर वितरण गर्दै यसको गरिमालाई उच्च र स्वीकार्य बनाउन नीतिगत परिवर्तनको खाँचो रहेको पनि उक्त डेलिगेसनमा औंल्याइएको छ ।

Facebook Comments