बिरिङ खोलामा एक दिन – उमा सुवेदी

प्रकाशित मिति :   September 25, 2018           Sabasta Entertainment




 

– उमा सुवेदी

त्यतिखेर होक्सेको काखैमा रहेको बिरिङ खोलाको फाँटिलो बगरमा ढुङ्गा ओसार्न बिर्तामोडबाट ट्रकहरू आउँथे । ट्रकहरूको आवतजावतले बुधबारेका कतिपय श्रमिकहरूको चुलामा आगो बल्न थालेको थियो । बगरमा यताउति छरिएका ढुङ्गा टिपेर एक ठाउँ जम्मा पारेपछि दुई चार पैसा आउँथ्यो । मध्यान्हको कडा घामले तातेको रापिलो बालुवामाथि नाङ्गा पैताताले काम गर्नु कम्ती कष्टकर थिएन तर श्रमिकहरूको यो स्वाभाविक कार्य थियो ।करिब १८ वर्ष अघि ढुङ्गा बटुल्ने यस कार्यमा म पनि संलग्न थिएँ । आज ल्यापटपको किबोर्डमा चल्मलाउने हातका औँलाहरू कुनैदिन बगरमुनि गाडिएका ठूल्ठूला ढुङ्गा खोतलेर निकाल्ने प्रयासमा तातो बालुवा उधिन्न व्यस्त थिए । स्कुले जीवनको यो विशिष्ट क्षण सम्झँदा अहिले आफूलाई पत्याउन गाह्रो लाग्छ ।

पाठक वृन्द, बुधबारेलाई बाया पारेर बग्ने बिरिङ खोलाको बगरमा आज म तपाईहरूर्ला लिएर जान चाहन्छु, जहाँ उभिएर मैले मेरो सपनालाई बिपनामा बदल्ने कसम खाएकी थिएँ ।
‘मनको बह कसैलाई नकह ’ भन्छन् तर म यो उखानलाई यसरी भन्न चाहन्छु, ‘‘मनको बह सबैलाई कह ।’अनुभवहरू बाँड्नुपर्छ किनभने ती प्रेरणादायी पनि हुन सक्छन् भन्ने मेरो बुझाई छ । जब मलाई केही लेख्न मन लाग्छ आÇनो ल्यापटप खोलेर किबोर्डमा औँला नचाउन थाली हाल्छु । पेन्सिल समाएर पानामा कोर्न भन्दा मलाई यो सजिलो लाग्छ । गीत गुन्गुनाउँदै यसैमा मग्न रहेका बखत बिजुलीको झड्का लागे जसरी एक दिन म एक्कासी त्यो पूर्वस्मृतिको खाल्डामा जाक्किन पुगेँ । त्यसमा सहायक थियो मेरो छेउमा बजेको रेडियो । मेरो त्यतिखेरको महत्वाकाङ्क्षी योजना यही रेडियो थियो ।
रेडियो प्रेममा परेर म एक दिन एका बिहानै बिरिङको बगरतिर दौडिएकी थिएँ आमालाई थाहा समे नदिइकन । त्यो दिन आज मलाई झल्झली याद आयो ।

गरिबी आफैँमा एउटा पीडादायी अवस्था हो । मानिसले गरिबीलाई सहजै सहन्थ्यो होला, यदि त्यसमा अपमान र हेलाहोचो घुलमिल भएर नआइदिने हो भने । मलाई गरिबीसँग आउने अपहेलनाको भारीले यसरी किच्थ्यो कि कहिलेकाहीँ म चट्पटाउन पनि सक्दिनथेँ ।
यो म नौ कक्षामा पढ्दा खेरिको कुरा हो । दुई छाक टार्न धौ धौ हुने घरमा विलासिताको सामान हुने कुरै भएन । हाम्रो घरमा त्यो बेला रेडियो थिएन । यस्तैमा एक दिन रेडियो सुन्नै पर्ने अवस्था आइलाग्यो । भर्खरै स्कुलमा ‘नारी शिक्षा आजको आवश्यकता’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा मैले लेखेको निबन्धले दोस्रो स्थान पायो । मैले मेरी साथी मेनुकाको सल्लाहमा त्यो निबन्ध प्रत्येक आइतबार रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम अन्तर्गतको ‘हातेमालो’का लागि प्रेशित गरैँ ।

मानिसलाई आफ्नो  नाम पहिचान र सफलताको कथा सुन्न कति हुट्हुटी हुँदो रहेछ, त्यो आफैँले प्रत्यक्ष नभोगेसम्म मलाई थाहा थिएन । मेरो निबन्ध कहिले रेडियोमा बज्ला भनेर म सोचिरहन्थेँ र त्यो बेला दिनहरू चाँडै बितेर प्रतीक्षाको त्यो घडीको अन्त्य भइहालोस् भन्ने कामना मात्र मेरो मनमा घरी घरी आइरहन्थ्यो । न भन्दै त्यो प्रतीक्षाको घडी पनि आयो । यति अधैर्य र व्याकुलताका साथ पर्खिरहेको त्यो क्षण नजिकै आउँदा भने म खिस्रिक्क भएँ । मनै अमिलो भएर आयो । कारण थियो आÇनो घरमा रेडियो नहुनु । तर केही छैन छिमेकी राधा दिदी जो म भन्दा जेठी भएर पनि मेरी साथी थिइन् उनका घरमा गएर सुन्न सकिहाल्छु नि । मैले मनमनै आफूलाई सम्झाएँ । त्यो दिन स्कुल छुट्टी हुनासाथ सबैलाई उछिन्दै एक सासमा म घर आइपुगेँ । आँगनमै उभिएर आमालाई बेलीविस्तार लगाउन थालेँ । भित्र पसेर स्कुले पोसाक फेर्न समेत मलाई होस् भएन । वल्लाघर पल्लाघर सबैतिर दौडिँदै आफ्नो पुरुषार्थ सुनाएँ । मेरो आशय थियो, आजको हातेमालो कार्यक्रम सबैले सुनिदिउन् र भनुन्–‘‘क्या बात उमा, तिमीले त गर्नु गरिछेउ ।’

दुनियाँ सपना जस्तै सुन्दर र कल्पना जस्तै सरल हुने भए मान्छेको जिन्दगी कति मज्जाको हुन्थ्यो होला । कत्रो महावेगले राधा दिदी कहाँ पुगेकी म एकाएक ओइलाएँ । दुर्भाग्यवश राधा दिदी घरमा थिइनन् । राधा दिदीकी काकी र हजुर आमा छोरी चेलीले काम गर्दा हातका चुरा बज्नु हुन्न भन्ने पुरातन मान्यताका कट्टर पक्षपाती थिए । स्कुल जाने, सबैसँग खुलेर गफ गर्ने, हाँस्ने, केटाहरूसँग पढाइबारे छलफल गर्ने केटी उनीहरूका नजरमा पतित थिए । राधा दिदीकै व्यवहारलाई पनि उनीहरू पचाउन सक्दैनथे । मैले अघिदेखि उत्साही भएर ओहोर दोहोर गरेको सबैलाई खबर गरेको उनीहरूलाई असह््य भइरहेको रहेछ ।
उनीहरूले मलाइ आदेशको शैलीमा भने, ‘‘बढेकी केटी यसरी मात्तिनु ठीक होइन ।’
मैले बिन्तीको भावमा भनेँ, ‘एक छिन रेडियो सुन्न पाए हुन्थ्यो, मेरो मनपर्ने कार्यक्रम बज्दै छ ।’
मैले यति भन्न के भ्याएकी थिएँ काकीले माथि बरन्डामा बजिरहेको रेडियो बन्द गरिन् र भित्र कोठामा लगेर लुकाइन् ।

‘कति न रेडियो सुन्ने भाकी, त्यतिको रहर लाग्नेले किनेर सुन्नु पर्छ ।’
उनी निकै बेर फत्फताइन् तर मैले उनको सबै कुरा बुझ्न सकिन । त्यतिखेरसम्म आमा पनि टुप्लुक्क त्यहाँ आइपुग्नु भयो । उहाँले केही नबोली अँध्यारो मुख पारेर मलाई तान्दै घरतिर लैजानु भयो । घरमा मेरो मन रमाउन सकेन । आमालाई फकाएर अर्को छिमेकीका घरतिर दौडिएँ । डल्ले काका असल छिमेकी थिए तर उनीहरू खेतबाट फर्केका रहेनछन् । अरू एकदुई घर चहार्दा पनि धोको पुरा हुन नसकेपछि रेडियो सुन्ने जाँगर नै मरेर आयो र हिँड्दाहिँड्दै बीच बाटामा थचक्क बसेर सबैले सुन्न सक्ने गरी त हैन, सुक्क सुक्क राएँ र मन हलुका भएपछि भारी पाइलाहरू घरतिर बढाएँ । आमा मकैको घान हालेर सकिनसकी जाँतो घुमाइ रहनु भएको रहेछ । मैले आमालाई मकै पिस्न सघाएँ ।

मलाई घानमा मकैसँगै आफूपनि पिसिँदै गएझैँ महसुस भयो । काकी र हजुरआमाका तिखा बचन र रुखो व्यवहार सम्झने बित्तिकै मेरो टाउको तात्थ्यो र गिदी भुलुक भुलुक उम्लन थाल्थ्यो थाल्थ्यो । कसै गरी म यो दुस्वप्न भुल्न चाहन्थेँ तर सम्झना झन् ताजा भएर आउँथ्यो । प्यारालाइसिसले धेरै अघिदेखि थला पर्नु भएका मेरा बुबा आजको यो घटनासँग परिचित भइसक्नु भएको थियो तर उहाँसँग बोल्नलाइ शब्द थिएन । सुतेको ठाउँबाट जुरुक्क उठ्नु भो र भित्तामा अडेस लागेर मलाई टुलुटुलु हेरि मात्र रहनु भयो । दाई पढ्न भनेर घर छोडेर हिँडेको निक्कै भै सकेको थियो । ५ छोरी मध्ये मेरा चार दिदीहरूले आ–आफ्ना घर बसाली सकेका थिए ।
अब यो घरमा मेरो केही दायित्व बढ्दै छ भन्ने मलाई लाग्दै थियो र मेरो अर्जुनदृष्टि एकोहोरो तवरले रेडियोमा गएर ठोकिन्थ्यो ।

त्यो रात मेरो बेचैनीको रात थियो । आधा रात बिती सक्दा पनि निन्द्रा मेरो आँखामा आउन मानेन् ।बिहान चाँडै उठी किताब च्यापेर निस्कनै लाग्दा मैले आमालाई भनेँ, ‘‘म आज दिदीकैमा भात खाएर उतै उतै स्कुल जान्छु ।’
घर र स्कुलको बीचमा मेरी दिदीको घर थियो । आमाले मेरो कुरा सजिलै पत्याउनु भयो । हातमा किताब बोकी सेतो सर्ट र निलो फ्रकमा सजिएर म अचानक बिरिङ्ग खोलाको ढुङ्गे बगरमा पुग्दा मेरी साथी गंगाले लगभग चिच्याएको स्वरमा भनी, ‘‘अबुइ ¤ कहिलेदेखि तेरो स्कुल यता सर्यो ?’ गंगाका बाआमा र ढुङ्गा थुपार्न भेला भएका अरू थुप्रै मान्छेले आश्चर्य मानेर मलाई हेरे र एक आपसमा खासखुस गरे तर मेरो ध्यान त्यतातिर थिएन ।
गंगाको नजिकै गएर मैले विस्तारै भने, ‘गंगा आज म पनि ढुङ्गा थुप्रो लाउछु है ।’
मलाई कसैले केही भनेनन् तर सबैका अनुहारमा अपत्यारको भाव झल्कन्थे । ‘एक छिन चम्कन्छे अनि भोक र थकाइले लखतरान भएपछि रुँदै फर्कन्छे ।’ सायद यस्तै सोच्दा हुन् । म अलमल नगरी सिधै काममा भिडेँ । अनुभवीहरू एक दिनभरिमा तीन ट्रक ढुङ्गा थुपार्दा रहेछन् । गंगाको सिको गर्दै म ठुल्ठुला ढुङ्गाहरू पल्टाउन र ओसार्न थालेँ । जब म थकित भएर ढुङ्गामा बसी सस्ताउन खोज्थेँ, हिजोको घटना झल्झली आँखा अगाडि नाच्न थाल्थ्यो र जुरुक्क उठेर जोसिँदै एउटा ठूलो ढुङ्गो बोक्थेँ । गंगाकी आमाले दिएका दुईटा सुक्खा रोटी र अचारको घरमा मैले त्यो दिन दुई ट्रक ढुङ्गा थुपारेँ । त्यसबापत १०० रुपैँया हात पर्दा म खुशीले पागल जस्ती भएकी थिएँ । त्यो अहिले जस्तो १०० रुपैयामा रेडियो पाइने जमाना थिएन तर बुधबारे चोकको कालु मेकानिकसँग भनसुन गरेर सेकेन्ड हेण्ड रेडियो भए पनि किनिछाड्छु भन्नेमा म ढुक्क थिएँ ।

म भोलिदेखि घरमा रेडियो बजेको कल्पना गर्दै छिटो छिटो घर तिर दौडिएँ । खुट्टाले म दुई पाइला पनि हिँड्न नसक्ने भइसकेकी थिएँ तर भावावेगले तानिएर कतिखेर घर आइपुगे मलाई पत्तो भएन । घर आएर खाटमा डङ्रङ्ग पल्टेकोसम्म मलाई याद छ आधा रातमा ब्युँझदा मैले आफूलाई सारा छिमेकीहरूले घेरिरहेको अवस्थामा पाएँ । छेउमाबसेर पिल्पिल आँसु झारिरहेकी आमा मेरो होस खुलेपछि निकै उज्याली देखिनु भयो । मेरा जिउ ढुङ्गाले किचेजस्तो भएको थियो । कुइनाले टेकेर उठ्न खोज्दा मैले थाहा पाएँ हातमा घरेलु औषधिको लेप लगाइएको रहेछ ।
सधैँ शान्त र मायालु देखिने मेरी आमा अहिले निकै कड्किनु भो । वरिपरिकाहरूले पनि आमालाई साथ दिए । सबै भन्थे, ‘बडो पौरख देखाउने भएकी, तेरो कारणले आज आमालाई कम्ति सास्ती भयो ?’ आमाले विस्तारै मेरो टाउको, पाखुरा र खुट्टाहरू सुम्सुम्याउनु भयो र आफैँलाई बिस्तारै भन्नुभयो, ‘हेर हत्केला भरि फोकै फोका छन् । यो केटीले पनि के के गर्छे गर्छे ।’

मेरो शरीरका प्रत्येक अङ्ग सिन्की हाल्न खाँदेका मुलाजस्ता भएका थिएँ तर मन सिमलको भुवा जस्तो थियो । भोलिपल्ट म स्कुल बिदापछि कालु मेकानिक कहाँ गएँ । उसले धेरैवटा थोत्रा रेडियोका पार्टपुर्जा बटुलेर एउटा पुरानो रेडियोलाई बज्ने बनायो । रेडियो लिएर विजयी मुद्रामा होक्सेको उकालो बाटो लाग्दै गर्दाको खुशी अहिले म शब्दमा व्यक्त गर्न सक्दिन ।
विगतमा भोगिसकेका कहाली लाग्दा क्षणहरू अहिले पछाडि फर्केर हेर्दा रोमाञ्चक लाग्दा रहेछन् । ती दिनमा दुःख नझेलेकी भए आ ज म यस ठाउँमा हुने थिइन होला । अभावले मेहनती र मेहनतले स्वाभिमानी बनाउँदो रहेछ भनेर म भर्खर बुझ्दै छु । जिन्दगीको यो यात्रामा मलाई हरदम साथ दिने एउटै सहयात्री छ त्यसको नाम हो आत्मविश्वास । यसलाई साथमा लिएर म जीवन पथमा निरन्तर हिँडिरहेकी छु र हिँडिरहनेछु ।
… गन्तव्य अझै निकै लामो छ ।

स्वअस्तित्वको खोजपुस्तकबाट साभार

अक्षर क्रियसन

Facebook Comments