इति अंश

प्रकाशित मिति :   August 1, 2018           Sabasta Entertainment




उमा सुवेदी –

बाले दुवै घुँडामा कपडा मक्किएर भ्वाङ परेको कालो रङको पाइन्ट लगाएका थिए । त्यो कमिज र पाइन्ट चिनी काकाले आफूले कति वर्ष लगाएर बालाई दिएका थिए । खुट्टामा हात्तीछाप चप्पल लगाएका थिए । दुवै चप्पलका गेडी चुडिँएर पाटाको डोरीले बाँधेका थिए ।
बाको निधार र कन्चटतिरबाट लगातार पसिनाको पातलो खोलो नै बगेको थियो । त्यो खोलो उनको मयल परेको गर्दनको बाटो हुँदै छाती र पिठ्युँतिर हराउँदै थियो । आँखाको अलिक तल दुवै गालामा कसैले चिथोरिदिएका जस्ता नङ्ग्राका ताजा दाग थिए । तर काममा सफल भएकोले होला बालाई त्यो घाउको कुनै परवाह थिएन । अनुहारको कुनाकानीतिर समेत दुखाइको अलिकति अंश पनि थिएन । मेरा बाको अनुहारमा खुसी छाएको थियो । गमक्क परेका थिए उनी । खाल्टोभित्र भास्सिएका गोला आँखा अझै चहकिला भएका थिए । मेरा बा र उनले भर्खर भुइँमा राखिदिएको बोरालाई देखेर धने काका पनि आश्वस्त देखिन्थे ।
मैले बुझिहालेँ । बाले बाँदरको टाउको ल्याएछन् ।कसैले ल्याउन नसकेको बाँदरको टाउको खोजेर ल्याए । म ज्यादै खुसी भएँ । मेरा बा जति बहादुर यो संसारमा कोही छैन जस्तो लाग्यो । मैले बालाई निकैबेर हेरिरहेँ ।
ठूला आँखा, चेप्टो परेको अनुहार, बाक्ला र लामा आँखीभौँ । दुवै आँखीभौँलाई जोड्ने ठाउँमा पनि बाक्लो रौँ पलाएको बालाई निकै सुहाएको थियो । सारै ठूलो पनि होइन, सानो पनि होइन, ठिक्कको नाक । देब्रे आँखाको अलिक तल कालो कोठी र कोठीभरि लामालामा रौँ पलाएका थिए बाका । हाम्रा बाका दाँत सारै मिलेका थिए । उनी हाँस्ता सारै राम्रा देखिन्थे । दसैँको टीकाको दिन लगाएको नयाँ लुगामा हाम्रा बा चिनी काकाभन्दा कम देखिँदैनथे ।
बाले कहिलेकाहीँ हामीलाई आफ्ना बहादुरीका कथाहरु सुनाउँथे ।
‘एकपल्ट पैँयावनको जङ्गल हुँदै खाडीभित्ता जाँदै थेँ । जङ्गलको माझतिर पुगेपछि ता कत्रो ठूलो भालु पो फुत्त मेरा अगाडि देखा परो हौ । उस्तै डरछेरूवा भको भा त हंसले ठाउँ छोड्नेथ्यो । तर म अलिकति पुनि डराइनँ । एस्सो विचार गर्दागर्दै झम्टिन पो आई गो हौ तेस्को साँडे ता । मेरो पालो तेस्का गर्दनमै च्याप्प अँठ्यार जुरूक्कै उचालेँ । अनि, ला खा त भनेर बर्लङ्गै पछारेँ । तेस्का बाजे ता कति बल्यो हुँदो रछ भने ! झट्टै उठि गो । म पुनि के कम । तेस्का खुट्टा समातेर जुरूक्कै उचालेँ र फन्फनी हावामा घुमार दश हात पर हुइँक्याई देँ । तेसपछि ता फर्केर हेर्दा पुनि नहेरी भागो ।’
यस्ता थुप्रै किस्सा थिए उनीसित । हरेक किस्सा सुनाइसकेर उनी खितित्त हाँस्थे । बाको त्यही हाँसो साह्रै प्यारो लाग्थ्यो मलाई ।
००
बाले बोकेर ल्याएको जुटको बोराभित्रबाट अनौठो आवाज आइरहेको थियो । मरेको बाँदरको टाउकाबाट कसरी आवाज आयो ? म छक्क परेकी थिएँ । मिलन पनि जिल्ल परेको थियो । हामीले एकअर्कामा मुखामुख गरेका थियौँ ।
अँध्यारो रात ।आँगनमा भइरहेको अचम्मको अनुष्ठान । त्यसभन्दा अघि धने काकाको आँगनमा यस्तो अनौठो अनुष्ठान देखेकी थिइनँ मैले । धने काकाले बेलाबेलामा अनौठो र नबुझिने मन्त्र फलाकिरहेका थिए ।
बोराभित्रबाट आएको आवाज सुनेर म अघि नै डराइसकेकी थिएँ । त्यही बेला मेरो हात समात्दै कल्पनाले सम्झाई मलाई, ‘नडरा, बाले जिउँदै बाँदर समातेर ल्याए जस्ता छन् । मोच मार्न त मरेको बाँदरको टाउको मात्र भए पुग्छ भन्थे धने काका । बाँदर चैँ पाल्नलाई ल्याको जस्तो छ ।’
कल्पनाले सम्झाएपछि अलिकति ढुक्क भएकी थिएँ म ।
आफ्नै आँगनमा चिन्ता बसेर जोखाना हेर्दै गरेका धने काका बाले ल्याएको बोरालाई देखेपछि एक छिन रोकिए । निकै बेरदेखिको पूजापाठले धने काका थाकेका थिए । उनको शरीर पसिनाले लफक्कै भिजेको थियो । अनुहारबाट पसिनाका थोपा तप्पतप्प चुहिँदै थिए । उनको हातमा पुरानो ढ्याङ्ग्रो थियो । एकदिन बाले भनेका थिए,
‘बूढी बाख्रीको छालाले मोरेर बनाको ढ्याङ्ग्रो पो हो त त्यो । गजो चीँ कुकुर डाइने लहराको हो ।मैले आफुइँ जङ्गलबड ल्याइदेको । ढ्याङ्ग्रो चीँ धने दाजुका पुर्खाकै हो ।धनेदाजुलाई उनका बाले मर्नुअघि देका अरे । भदौरे पुन्र्याका दिन दियोबाती सहित आनो चेलो बनार ढ्याङ्ग्रो जिम्मा लगाका थे अरे ।’
‘लच्छिनको ढ्याङ्ग्रो हो ।एसैले तेरो पेट पाल्छ धने ।’ धनेका बाले एसो भनेका थे अरे । नभन्दै तेसै भको छ हौ । त्यै ढ्याङ्ग्राले आज धने दाजुको परिवार पालेको छ । दुई सय वर्ष पुरानो अरे । दुई सय वर्षदेखि बजेको बजेई छ हौ त्यो ढ्याङ्ग्रो ।’
‘आम्मै ! दुई सय वर्ष ?’ म त जिल्लै परेकी थिएँ । दुई सय वर्षअघि हाम्रो गाउँ कस्तो थियो होला ? दुई सय वर्षअघिका मान्छे कस्ता थिए होलान् ? कस्ता लुगा लगाउँथे होलान् तिनले ? दुई सय वर्षअघिका मान्छेले के खान्थे ? उति बेला चकलेट पाइन्थ्यो कि पाइँदैनथ्यो ? बजारमा जुलपी पाइन्थ्यो कि पाइँदैनथ्यो ? हाम्रो गाउँमा बेलटार थियो कि थिएन ? माथि आकाशमा चन्द्रमा र तारा देखिन्थे कि देखिँदैनथे ? भित्तेपैनीमा बाँदर आउँथे कि आउँदैनथे ? हाम्रो गाउँमा हात्ती आउँथे कि आउँदैनथे होला ? हाम्रो गाउँसँग हात्ती रिसाएका थिए कि थिएनन् होला दुई सय वर्ष पहिले ? मान्छेहरु हात्तीको दोख भगाउन धने काकाजस्तै चिन्ता बस्थे कि बस्तैनथे ?
मैले धेरै प्रश्न गरेकी थिएँ बासित । बाले कुनै उत्तर दिएनन् ।
‘खोइ, मलाई सप्पै कुरो ता काँ था हुन्छ र ? मलाई पुनि केही था छैन हौ । इस्कुल जान पाको भा सप्पै कुरा था हुन्थो होला ।’बाले शिरको मैलो टोपी झिकेर घुँडामा राख्तै भने ।
धने काकाले थानको एकछेउमा गाडेको भलायाको किलोमा ढ्याङ्ग्रो अड्याए । एकपल्ट लामो सास ताने । मुखमा कति बेरदेखि कडा गन्ध आउने बलवान् छाप खैनी च्यापेका थिए । अल्लि पर सरेर पिचिक्क थुके र बातिर हेर्दै भने, ‘खोलाँ गर परपिसाच हटाउने काम पुनि अघि नै सक्केको । अब मोच मार्ने कामतिर लाग्नुपर्ने । खोलामा मसान जगाउनु अघि नै आइपुग्छु भन्थिस् तँ । तेरा कुराँ लाग्या भा मसानले सप्पैलाई खाइसक्थो । धन्न खोलाघरे दाजुले परेवा ल्याइदे । परेवाको रगत तनतनी पिएपछि हात्तीगौँडाको दोख आफ्नो बाटो लागो । अब यो मोच मार्ने काम पुनि सक्यो भने ता हात्तीगौँडाबाट मरिगए पुनि दामाटारमा हात्ती छिर्नै सक्ैतनन् हौ । दामाटारमा बसेको हात्ती बिच्क्याउने दोख पुनि भाग्छ । दोखले नबोलाएपछि कैल्यै हात्तीले हामीलाई दुःख दिँदैनन् ।’
धने काकाले ठूलो आवाजमा त्यति बोलिसकेपछि एकपल्ट सबैतिर हेरेर गमक्क परे । मैले मिलनको कानमै मुख लगेर सोधेँ, ’साँच्चै हाम्रो गाउँमा अब हात्ती आउँदैनन् हो ?‘
मिलनले ओठ लेप्य्राएर जवाफ दियो, ‘खै !’
धने काकालाई ढ्याङ्ग्रो ठटाएर काम्दै गरेको देख्ता नै मेरो सातो गैसकेको थियो । उनी आज अरू दिनभन्दा बेसी कामेका थिए । उनीसँगै कुकुर डाइने लहराको गजो पनि ढ्याङ्ग्राको बिच भागमा उसै गरी नाचिरहेको थियो । उनी कोही बेला छिटोछिटो बजाउँथे अनि कोही बेला अलिक बिस्तारै बजाउँथे । त्यो रात ढ्याङ्ग्रो ठोकेको आवाजले दामाटारका चराचुरूङ्गी, गाईभैंसी, खसीबाख्रा र हिलाका भ्यागुत्ता समेत जागै थिए ।
धने काकाले सेतो लामो जामा, घाँटीमा दुईवटा लामा लामा रूद्राक्ष र घण्टीको माला दुवैतिर छड्के पारेर पहिरिएका थिए । शिरमा सेतो फेटा, त्यसमाथि रातो कपडामा मयूरको प्वाँख उनेको पगरी गुथेका थिए । निधारमा कालो टीका पनि लगाएका थिए ।
धने काकाले जोखाना हेरेर कसैको घरलाई भूतप्रेतबाट रक्षा गर्न वा जङ्गली लाग्दा मोच मार्न बलेँसीमा मरेको बाँदरको टाउको गाड्न लगाउँथे । त्यस्तो बेलामा मरेको बाँदरको टाउको या कुकुर गाडेको ठाउँ खोतलेर कुकुरको खप्पर ल्याउने काम बाले गर्थे ।
बाँदर लिएर ठूलो पुरूषार्थ गरेका मेरा बाले सबैसित गफ लाउँदै थिए,
‘मरेको बाँदर खोज्न कम्ता गाह्रो भएन हौ एस्पालि । खोल्साखोल्सी सप्पैतिर गएँ । भिरपाखा कति कुदेँ कुदेँ । जङ्गलको भित्रभित्रै पसेँ । तर मरेकै बाँदरको सुकेको टाउको ता कतै पुनि भेटिनँ । भिर खोल्साखाल्सी हिँड्दाहिँड्दा कम्ता गलिनँ हौ ।’
उनले एकपल्ट सबैतिर नजर घुमाए । केके न बहादुरी गरेझैं गमक्क फुले र पातलो जुँगामा ताउ दिँदै भने, ‘अनि एसो विचार गरेँ । बाँदरको टाउको आखिर टाउकै हो । ल्याउनु ता परो नि जसरी भा पुनि । कालीखोले जङ्गल पस्तापस्तै एउटालाई ता समाइसक्या थेँ । तर अरू बाँदर आर मेरो जिउभरि चिथोरेर तेल्लाई छुटार लगिहाले । तेस्का बाजेले झन्डै मेरो आँखो फुटाल्देको । लात्तले भ्याट्टै पो हानो त आँखैमा । आँखो फुटो होला आज चीँ भनेर एकछिन ता तिरीमिरी झयाइँ देखेँ नि हौ । अनि एउटा दाउरो टिपेर तेस्का बाजेलाई हान्न खोजेको साँडे एकैपल्टमा रुखका टुप्पैमा पुगिहालो नि । अब के गरुँ भनेर एसो विचार गर्दै थेँ । जमुनाका हाँगाबड फुत्त यो च्याँसे मेरै अगाडि हाम फालो । के के जुक्ति लार भा पुनि एल्लाई ता लुकार ल्याएँ हौ ।’
बाको कुरा सुनेर भगीरथ काका मुसुमुसु हाँसेर पत्याएजस्तो गरे । तर चिनी काकाले भने बाका कुरा पत्याएनन् ।उडाए बालाई ।
‘यो जगतेले बाँदर त होइन, कतैबाट कुखुरो चीँ समातेर ल्याको होला । कम्ताको गफाडी छ यो ? नभा नभाको गफ लाउँछ । अरू बेला पुनि मुसो मा¥यो भने बाघै मारेजस्तो गफ दिन्छ ।’
सबै गलल्ल हाँसे । मेरा बालाई हाँसोमा उडाएको मलाई पटक्कै मन परेन । मलाई त्यति बेला मेरा बालाई गिज्याउने सबैको मुख चिथोरिदिउँजस्तो लागेको थियो ।
निकै फुरूक्क परेका थिए बा । हाँस्तै बोरा खोले । सबैका आँखा उनीतिरै सोहोरिएका थिए । उनले बोराभित्र हात छिराए । बोराभित्रबाट एउटा बाँदर निकाले ।त्यो निकै आत्तिएको थियो । म पनि आत्तिएँ । मैले देखेँ त्यो बाँदर एकदम सानो थियो । पाटाको सानो डोरीले त्यसको हात खुट्टा बाँधिएको थियो । बाले बाँदरलाई भुइँमा राखिदिए । त्यो सानो बाँदरले हामी सबैलाई टुलुटुलु हेरिरह्यो । त्यसका आँखाबाट आँसु बगेजस्तो लागिरहेको थियो मलाई । मलाई पनि रोऊँरोऊँ लाग्यो । मन कटक्क काटियो ।
‘अरू बेला भको भा मरेकै बाँदरको टाउको गाड्नु पर्थो । तर एसपालि जिउँदैको बलि दिन लेख्या रछ । लेखेकै कुरो ता कल्ले टाल्न सक्छ । अब एति गरिसकेपछि बाँदरको टाउको नगाडेसम्म साधना पूरा नहुने भो । अब एल्लाई ईः याँ अचानामा राखेर बलि दिनुपर्छ ।’
धने काकाले यति भन्नुमात्र के थियो, हातमा खुकुरी लिएका बाले बाँदरको घाँटी छिनाइहाले ।
मलाई भनन्न रिँगटा लाग्यो । मैले त्यसपछिको दृश्य हेर्नै सकिनँ । म एकचोटि चिरिर्र चिच्याएँ र बेहोस भएर त्यहीँ ढलेँ ।
०००
साभारः ईति ९उपन्यास०

प्रकाशक: अक्क्षर क्रियशन
लेखकः उमा सुवेदी

Facebook Comments