आफू उत्ताउली भएपछी यस्तै हुन्छ

प्रकाशित मिति :   August 1, 2018           Sabasta Entertainment




अमृता लम्साल –

पाँचजना छोरीहरू मध्ये जेठी भएर जन्मिएकी मैले शायद विवाह हुनुभन्दा पहिले कहिल्यै पनि छुटयाउन सकिन कि, समाजले छोरा र छोरी माथी भिन्दा–भिन्दै व्यबहार गर्दछ । हुनत, आफनी स्वर्गीय हजुरआमा (बुवाको आमा) ले पटक–पटक ‘माईला बाबु’ को सन्तान नै छैनन्, उनलाई किन सम्पत्ती चाहियो ? भनेर बारम्बार प्रश्न गर्दा सानो दिमागले सोच्तथ्यो, किन छोरालाई मात्र सन्तान भनेको होला भनेर तर उतिबेला आफ्नो जिज्ञासा राख्ने ब्यक्ति पनि थिएनन। अनी उत्तरको खाँचो पनि महशुस गरिएन ।शायद छोराको आशामा पाँच छोरी बग्रेल्ती जन्माएपछि, एक दिन मेरो बुवाले भ्यासेक्टोमी गरेर आउनु भयो । त्यस पछिको एक दिन, मैले मेरी हजुरआमाले मेरी आमामाथी धुनधानसँग असन्तुष्टि पोखेको देखेँ, सुनेँ । हुनत, मेरी आमालाई यो दिनको सम्झना पनि छैन होला तर मलाई हाम्रो चावहीलको पुरानो घरको “ठुलो कोठा” (त्यो कोठालाई त्यसैगरी चिनाईन्थ्यो) मा बसेर गाली गरेको अझै पनि याद छ । मेरो उमेर त्यति बेला साढे आठ बर्षाको हुँदो हो । मेरी हजुरआमालाई त्यो दिन दुई कुराको गुनासो थियो, पहिलो बुवाले गरेको भ्यासेक्टोमी र दोश्रो मेरी आमाले खाएको जागिर दुबै कुरो त्यो पिँढीलाई नपच्ने पर्यो, बुवाले गरेको भ्यासेक्टोमी बारे मेरी हजुरआमाले बुवालाई केही भन्न सक्नु भएन तर बुहारी माथी खनीनु भयो । अन्त्यमा, हजुरआमाले भन्नु भयो, ‘त्यो फुकाउन मिल्छ भन्छन, त्यसैले फुकाउनु अर्थात, सिधा या घुमाउरो सन्देश थियो, ‘कसै गरे पनि छोरा पाउनु ‘ ।जागिरको बारेमा उहाँले रोष प्रकट गर्दै भन्नु भयो, ‘धाई बज्यै (हाम्रो टोलमा एउटी महिला दरबारमा धाई हुनुहुन्थ्यो र त्यही कारणले टोलमा उहाँको धेरै ईज्जत थियो) को घरमा समेत कुरा काटिसके फलानाकी बुहारी जागिर खान गई भनेर, यसरी ईज्जत फाल्ने हो?’ सासुको कुरा सुनेर बुहारीको मुखबाट केही निस्केन बरु पछि आफ्नै श्रीमानलाई बिवरण प्रस्तुत गरेर असन्तुष्टी लिनुभयो । यो सबै देखेर, सुनेर हुर्किंदा पनि आफूलाई के हो छोरी माथीको बिभेद या हेलाँ केही थाहा थिएन । यस्ता तथ्यहरूलाई त हरेक दिन दाल–भात खाए जस्तो सजिलै स्वीकारिन्थ्यो ।आफू अर्थात, जेठी र पाँच मध्ये कान्छी बहिनीको बीचमा जम्मा आठ बर्षको मात्र फरक थियो। अझ पहिला चारको बीचमा केबल चौध–चौध महिनाको मात्र फरक थियो । जेठी भएको कारणले बहिनीहरूको जिम्मेवारी त हुन्थ्यो नै, त्यो बाहेक घरमा कहिल्यै पनि कुखुरा, (त्यो पनि दुई चारवटा होइन, तीन÷चार सय), गाई­भैँसी(एक पटक त २१ वटा थिए), खेतिवारी आदि अटूट नै हुन्थ्यो । कतिपय समयमा घरमा काम गर्ने मानिस पनि हुँदैन थिए | त्यसैले, कुखुरालाई दाना–पानी दिनेदेखि गाई­–भैँसीको भकारो सोहोर्नेसम्म दैनन्दिनी नै थिए ।यस्तो बिवरण पढेर मानिसहरूले सोच्लान्, कतै गाउँघरकी रैछ की भनेर, तर होईन है । म त ठेट चावहिलको काँठकी हुँ । हुनत, बुवाको जागिरे जीवनसँगै धेरै समय गाउँ घरमा पनि बिताईयो, जसको कारण स्कुले जीवनको रमाईलो त्यति धेरै अनुभव गर्न पाईएन । लगातार स्कुल पढेको केवल आठ, नौ र दश कक्षा मात्रै हो पढ्ने समय या वातावरण होस् या नहोस्, बुवाको सपना भने छोरीहरूलाई पढाएर डाक्टर बनाउने नै थियो । त्यसैले उहाँकै छत्रछायाँ र निर्देशनमा सात कक्षासम्मको पढाई घरमै सिध्याईयो । हुनत, त्यो कुनै बैज्ञानिक तवरको पढाई त थिएन, तर पनि आजसम्म उहाँले घोकाएको अल्जेब्राको पाठ, ‘ए प्लस बी होल स्क्वाएर बराबर ए स्क्वाएर प्लस ट्वाईस एबी प्लस बी स्क्वाएर’ भन्ने ईक्वेसन चाँही कन्ठै छ ।

बुवाको जागिरे जीवनमा धेरै ठाउँ चहारियो, रामेछापको ठोसेको भने अलिअली याद आउँछ । स्याङ्जाको सिरुवारीको भने धेरै याद आउँछ। त्यहाँ साह्रै अनकन्टार ठाउँमा बसिएको थियो । एकपटक टाउको भरी खटिरा आएर औषधीमूलो केही नपाउँदा मेरो स्वर्गीय बुवाले कुनै ठूलो नदीको किनारमा भएको तितेपातीको घारीबाट तितेपाती टिपेर त्यहीँ खोलाको पानीले एउटा ढुँगा पखालेर त्यो ढुँगामा तितेपाती कुट्दै त्यसको झोला टाउकोमा हालेर घाऊ ठीक पारेको धेरै बर्ष भएको छैन जस्तै लाग्छ । तर त्यो विक्रम सम्वत २०२४/२५ तिरको कुरो हो, जुन बेला म पाँच साढे पाँच बर्षकी थिएँ । त्यस पछि, सुन्दरीजलको कन्दरामा पुग्यौँ† त्यहाँको पनि मीठो सम्झना मात्रै ताजा भएर आउँछ ।
सुन्दरीजलको बसाई पछि, बालाजुको महेन्द्र–पार्क भन्दा माथी रहेको (पार्क भित्रैबाट जानुपर्ने) उपत्यकामा पिउने पानी बितरण गर्ने कार्यालयमा बुवाको पोष्टिङ्क भयो । त्यहाँ, बस्ने आवास र कार्यालय सँगसँगै थियो । पिउने पानी जस्तो संवेदनशील बिषयसँग सम्बन्धित कार्यालय भएकोले (त्यहाँ सैनिक या प्रहरी हो) राइफल बोकेका ब्यक्तिहरूको पहरा चौबीसै घन्टा हुन्थ्यो । यो बिक्रम सम्वत २०२८ तिरको प्रसँग हो, हामी त्यहाँ भएको समयमा राजा महेन्द्रको स्वर्गारोहण भएको खबर आएको थियो । त्यो खबर त्यस कार्यालयमा हुनेहरूले छिट्टै थाहा पाएका थिए† कारण, राजालाई सन्चो नभएको खबर सुनेर नागर्जुन दरबारबाट चितौन जान लागेका तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यलाई, राजाको स्वर्गारोहण भैसकेकोले चितौन नआउनु भन्ने खबर आएपछि त्यही कार्यालयमा आएर फोन गरी शायद दरबारबाट गाडी मगाईएको थियो । परम्परा अनुसार भावी राजाले दिवंगत पिताको लाश हेर्न नहुने र किरिया पनि गर्न नहुने चलन बिद्यमान थियो ।

त्यति बेला अहिलेको जस्तो फोन र संचारको ब्यबस्था जताततै थिएन र त्यस कार्यालयमा भएको फोनले ठूलो भूमिका खेलेको थियो । उक्त स्थानमा मेरो बाल्यकालको करीब चार बर्ष बितेको थियो ।
सो कार्यालय जँगलको बीचमा थियो, त्यहाँ सीमित ब्यक्तिहरू बाहेक अन्य कोही पनि ती राईफलधारीहरूको सोधीखोजी बिना त्यहाँ ढिम्किन पाउँदैन थिए । अरुका लागि तिनीहरू रक्षक थिए तर यो बबुरीको पहिलो यौन शोषण तिनीहरूबाटै भएको थियो । उनीहरू यौनका भोका थिए । जब यो सानी केटीलाई एक्लै देख्तथे, च्याप्प पारेर समाउँथे, र भर्खर टुसाउन लागेका छातिका आकारहरूलाई बेस्सरी माड्दथे । आफू भने उनीहरूको पन्जाबाट फुत्किन भागी भागी हिंड्दथेँ । बाजले गाँज्न खोजेको सिकारबाट बाँच्न भागेको परेवा जस्तै, त्यो सानी केटीलाई थाहा थिएन, ती भक्षकहरूको कुकृत्यबाट बच्ने उपाय, न त उसलाई थाहा थियो शोषिनबाट रोकिने उपाय हरेक दिन जस्तो विवश हुँदै बिताएका ती क्षणहरू आज पनि मानशपटलमा रोष बनेर झुल्किन्छन, कसलाई भन्ने ? बाबुसँग आँखा जुधाउन समेत डर लाग्दथ्यो, साथी सँगी पनि थिएनन् अनि त के चाहियो, हरेक दिन शोषणमा पर या मर हुँदा हुँदा त्यो शोषणको क्रम ती राइफलधारीबाट मात्रै होईन, त्यस कार्यालयमा काम गर्ने पिउनहरूबाट समेत शुरु भयो । बाँच्ने उपाय एउटै मात्र थियो, उनीहरूको सामुन्ने एकान्तमा नपर्ने तर त्यो सम्भव थिएन, साना बहिनीहरूलाई घर बाहिर खेलाउने ड्युटी त हुन्थ्यो नै त्यति बेला उनीहरू माथी नजर राख्न सक्ने कोही हु;थ्यो, अनी त मौका छोपिहाल्थे ।

जब जब उनीहरूको हात छातीमाथी मडारिन्थे, तब तब भगवानसँग एउटै कामना गर्दथेँ, ‘हे भगवान्, मेरो यो छातिका डल्लाहरूलाई बढ्न नदेउ अनि हरेक दिन त्यो सम्म होस्, चुच्चो बनेर नउठोस् भनेर सकेसम्म सम्म पारेर माड्न खोज्दथेँ । टुसाउने क्रममा कहिलेकाँही ती डल्लाहरू घाऊ दुखे जस्तै गरी दुख्दथे पनि। अनि डर पनि लाग्दथ्यो, किन यस्तो हुन लागेको होला कतै घाऊ बढेको त होईन ? भनेर आप्mनै शारीरिक वृद्धि र बनावट बारे सम्म पनि जानकारी थिएन त्यो भुत्ते दिमागलाई कठै, ती दिनहरू अनि त्यो बालख सोचहरू कस्तो जमानामा हुर्कीइयो, अनी अहिले कस्तो जमानामा बाँचिइरहिएको छ । केही दिन अगाडी मात्रै अमेरिकास्थित नेसनल विमेन्स हेल्थ रिसोर्ट सेन्टरको रिपोर्ट पढ्दै थिएँ, जस अनुसार अमेरिकामा हरेक दिन करिब एक हजार महिलाहरूले आफ्नो स्तन बढाउन पैसा खर्च गर्दछन् रे, त्यति मात्र कहाँ हो र, पश्चिमा समाजमा त आजभोली छोरी÷नातिनी अठार बर्ष पुगेको अवसरमा जन्मदिनको उपहार स्तन बढाउनको लागि प्लाष्टिक सर्जनहरूको क्लिनिकको गिप्टकार्ड समेत दिइन्छ भनेर चर्चा–परिचर्चा गर्दछन्, जे होस आफ्नो बाल्यकालको शुरुआत भने त्यस्तो दर्दनाक परिस्थितिमा भएको थियो ।त्यो क्रम त्यहाँबाट चावहिलको घरमा नफर्किंदासम्म टुटेको थिएन ।त्यसरी च्यापिने क्रम त नजिकका रगतका नातेदारहरूबाट पनि धेरै ठाउँमा धेरै पटक जारी नै रहृयो ।विवाह पश्चात् पनि त्यस्ता दिनहरूको सामना गर्नुपरेको याद यो छातिभित्र गहिरिएर बसेको छ, कतै कुनै नाताको नाममा, कतै कुनै तर उजागर गर्ने हिम्मत धेरैसम्म भएन र गरिहालेकै बखतमा पनि बाजका रुप लिनेहरूलाई जोगाउन, ‘उनीहरू त्यस्ता होईनन, तँ नै त्यस्तो ’‘आफू उत्ताउली भएपछि यस्तै हुन्छ या उसलाई सन्चो नभएको कारणले त्यसो गरेको हो, जानेर गरेको होईन ’ भन्ने स्पष्टिकरण दिइयो, अनि त कसलाई के भन्नु र ? आफूमा आत्मविश्वासको कमी हुँदा र आफने भन्ने कोही नहुँदा (मेरो आशय, नाता गोता होईन। आफूले भावनात्मक रुपमा माया र विश्वास गर्न सक्ने या पाउने व्यक्तिको कमी हुँदा) जीवनका धेरै वर्षहरूसम्म त्यस्ता कुराहरूबाट पीडित हुनुपर्यो ।

जे होस्, घस्रिँदै पस्रिँदै जन्मिएको पन्ध्र बर्ष, तीन महिनामा आफूभन्दा पन्ध्रै बर्ष जेठो ब्यक्तिलाई ‘मारे पाप, पाले पून्य ’ भनेर जिम्मा लगाईयो । जुन बेला त्यो अबोध बालिकालाई जिम्मा लगाईयो, त्यतिबेलासम्म जतिसुकै र जस्तोसुकै शारीरिक शोषण भए पनि पुरुष र स्त्री बीचको यौन सम्बन्धको गाँठी कुरो भने थाहा थिएन । त्यो बेलाको बन्द समाजमा बाहिरी सञ्चार चिनेर चिनाउने भनेको, ‘यो रेडियो नेपाल हो’ भन्ने बाहेक केही सुनेको थिएन । सिनेमा हेर्ने नाउँमा नेपालीमा ‘माईतिघर’, ‘सिन्दूर’ अनि हिन्दीमा गोडा चारेक भन्दा बढी याद छैन । टेलिभिजन भन्ने चरो पनि यो दुनियाँमा छ भन्ने कुरा त सपनामा पनि देखेको थिएन । घरबाट स्कुल र एसएलसीको जाँच दिन अनि एकपटक स्कुलबाटै भाग लिएको निबन्ध प्रतियोगितामा रानिपोखरीस्थित दरबार स्कुल गएको भन्दा बाहेक अन्त एक्लै गएको रेकर्ड छैन । एसएलसी पास भएपछि, बागबजारस्थित प‘द्मकन्या कलेजमा भर्ना भईएको थियो, तर खानदानी घरको केटाको बिवाहको कुरो आएको र आफू पछि अरु चार बहिनीहरू भएकैले होला चट मगनी पट विवाह भैहाल्यो ।विवाहकै दिन पहिलो सेमेस्टरको जाँच थियो। सबै कुरो भाड मे जाये,ठूलो घरको कुरो जो थियो, त्यस पछिको जीवन चाहे जस्तोसुकै गरेर बितोस्, बिवाहको कुरो चलेको दिनदेखि बिवाह पश्चात जतिपटक माईत गएपनि बाबुको अर्ती हुन्थ्यो, ‘हेर है नानी, कसैको चित्त नदुखा, बिशेष गरी बुढा–बुढीको(ससुरा–सासुको) बहिनीहरूको विवाह गर्नुपर्छ ’ मतलव, मैले विवाह गरेर गएको घरमा रिझाउन सकिन वा सहेर बसिन भने ‘जेठी छोरीले त घर गरेर खान सकिन, त्यस्तीको बहिनीलाई कसरी घर भित्रयाउने ?’ भन्ने सवाल उठला भन्ने ठूलो भय थियो उहाँलाई त्यसैले जे जस्तो भए पनि विवाह पश्चात्को जीवनको एउटै उद्देश्य थियो, अरुको सक्दो चाकडी गर्नु, सबैलाई खुशी पार्नु समग्रमा भन्नुपर्दा, आफूलाई मिटाउनु। अरु सबैको पक्षपोषण गर्नु विवाह पछि शुरु भयो, छोरी र बुहारी हुँदाका बिभेदका उदाहरणहरू समाजमा स्वास्नीमान्छे भएर जन्मिँदा भोग्नु र सुमर्नु पार्ने बाध्यता र विवशताका कथाहरू अनी पुरातन र रुढीवादी सँस्कारबाट पिल्शिनु परेका पीडाहरू,
विवाह भएको लगत्तै लाग्यो, ‘ओहो यस्तो धनी घरमा विवाह भएपछि त क्या मजा हुने रहेछ, काम पनि गर्नु नपर्ने लुगा र गहना पनि मनग्यै पाईने ’ यस्तो बिचार आउनुको कारण थियो, विवाहमा देखाउनकै लागि भएपनि हालिएका सुनको तीन लहरे चन्द्राहार सहितका अन्य सुनका गहना, सुनका पाउजुब जुन कुरा त्यो दिनसम्म त्यो अल्लारे केटीले कहिल्यै देखेकी थिइन । अनि अर्को महत्वपूर्ण कारण थियो, माईतीको घरमा कहिल्यै कामबाट मुक्ति नपाउने केटीले विवाह पश्चात सोह्र दिनको साइत नहुँदासम्म घरमा काम गर्नु परेको थिएन । त्यो अबोध अनी क्षणिक भूलभूलैयामा रमाउने उमेर ।
तर ती दिनहरू धेरै दिन टिकेनन ।विवाहको एक महीना नबित्दै, ठूलो घरको ईज्जत देखाउन हालिएका सम्पूर्ण गहनाहरू फीर्ता गरियो। अनि सोह्र दिनको साइतको लगत्तै घरमा गोरु जोतिए जसरी बिहान उज्यालो हुनुभन्दा अगाडिदेखि रातको साढे दश÷एघारसम्म जोतिने कार्य शुरु भयो ।
सबैभन्दा पहिले, दिमागलाई झ..न..न..न बनाएको घटना, हेर्दा त साह्रै सानो देखिन्छ, तर यसले परम्परागत सोचलाई पूरै प्रतिनिधित्व गर्दछ भन्ने मेरो धारणा छ । त्यो हो, मेरो लगाईमा गरिएको निगरानि विवाह भएको एक महिना पनि पुगेको थिएन होला, एक दिन चट्ट मिलाएर लगाएको सुती धोतीमा अडाउन कुममा सेप्टिपिनले अड्काएर ससुराको कोठामा पुगेँ । त्यहाँ सासू ससुरा दुबै बसिराख्नुभएको थियो । मलाई देख्ने बित्तकै सासू उठेर कोठाबाट बाहिर निस्कँदै, मलाई पनि बाहिर बोलाउनुभयो र भन्नु भयो, ‘दुलही (बुहारीलाई दुलही र सासू ससुरालाई बज्यै, बाजे भन्ने चलन थियो) बाजेको अगाडी आउँदा त्यो धोतिमा सेप्टिपिन लगाएर आउने होईन, धोती तलसम्म झारेर कुहिनासम्म ढाकेर आउने गर’ त्यति मात्र होईन, अर्को आदेश भयो । घरबाट बाहिर निस्कँदा खास्टो ओडेर मात्र र त्यो पनि कसैसँग साथ लागेर मात्र निस्कने ।

आफ्ना मान्यजनको अगाडि टाउकोलाई धोतीले ढाक्नै पार्ने परम्परा त पालन गरेकै थियो† त्यसमाथी यो अर्को आदेश थियो ।तत्पश्चात्, तुरुन्तै त्यो सेप्टिपिन निकालेर फेरि घरमा बस्दा त्यसरी धोती लगाईएन, अर्को कुरा भान्सामा चोलो लगाएर जान पाई;थ्यो , त्यसो गरे भान्सा छोईएको सरह हुन्थ्यो। चोलो त के कुरा ब्रा पनि लगाउन हु;थियो । जसको अर्थ मैले आजसम्म बुझ्न सकेको छैन, अरु पेट बोकेको बेलामा त यत्रो ठूलो भुँडिले उचाल्लिएको धोतिले, टाउको छोप्ने कि, छाती छोप्ने लाज र अप्ठ्यारो लागेर मरेकै जस्तो भान हुन्थ्यो तर मर्ता क्या न कर्ता? आफ्नो जन्मघरमा त्यस्ता चलनहरू भोग्नु त के कुरा देखेको पनि थिएन । घरमा नातामा आफूभन्दा कान्छाहरूसम्मले पनि भात नखाईसकी बुहारीहरूले खान पाइ;थ्यो । सात जना छोराहरू, बाबु–आमा र सँधै पाहुना हुने घर थियो । घरमा जतिसुकै काम गर्ने मान्छेहरू भएपनि निश्चित कुराहरू बुहारीहरूले नै गर्नुपर्दथ्यो। जसले गर्दा बुहारीहरूले मुस्किलले दिनको १/२ घन्टा फुर्सत पाउँथे । त्यति मात्र कहाँ हो र भर्याङ्गमा हिँड्दा चप्पलको आवाज निस्कियो भनेर पनि गाली खानु पर्दथ्यो, आफू परेँ १६/१७ की अल्लारे केटी, विवाह हुँदैमा आफूभित्रको अवोध बालापन त हराईनै हाल्दैनथ्यो। के गर्नु र ?जीवन यसै गर्दै चल्दै थियो, यस्तैमा एकदिन जेठी फुपुको माहिली छोरीको श्रीमान्को अस्वाभाविक मृत्यु भएको खबर आयो । मेरी ती दिदी हामी मामा र फुपुका गरी उन्नाइस जना सन्तान मध्येमा सबैभन्दा राम्री र उज्याली हुनुहुन्थ्यो । विवाह गरेको जम्माजम्मी चार बर्ष पनि भएको थिएन होला । उमेर पनि बाइस÷तेईस कै मात्र थियो होला काखमा डेढ बर्षकी छोरी थीइ । खबर सुनेर म त छाँगाबाट खसेझैँ भएँ । उँहाको बिवाह गर्ने बेलामा धेरै केटाहरू मध्येबाट छानिएको थियो, मेरो जस्तो कुरा आउने बित्तिकै गाईलाई दाम्लोले बाँधेर डोर्याउदै पठाएजस्तो गरिएको थिएन । सु;मा त यतिसम्म पनि आएको थियो कि, पाईलटले माग्न आउँदा उहाँको बुवाले ‘रातदिन ज्यान हत्केलामा राखेर हिँड्नेलाई म छोरी दि;“ भन्नु भएको थियो रे तर दैवको लीला अपरम्पार भने जस्तै उहाँको श्रीमानले आफ्नो ज्यान आफैँ फाल्नु भयो ।

खबर पाएपछि, बिजोडका दिनमा बिचार लिएर जाने परम्परा धान्दै म पनि सात दिनको दिन भेट्न पुगेँ । उहाँ भित्तातिर अनुहार गरेर पल्टीराख्नुभएको थियो | हामी माईती खलकहरू त्यहाँ पुग्दा पनि हामिपट्टी फर्किएर पनि हेर्नु भएन । हामी बस्दा बस्दै, सहयोगको लागि सँगसँगै किरिया बसेकी बाहुनी बज्यैले जबर्जस्ती उठाएर फलफूलको रस पियाईन । यो क्रममा पनि हामीले उँहाको अनुहार देखेनौँ । तर मैले उहाँको नेल पालिस समेत नपुछिएको लामा लामा नङ्कहरू देखें ।अनि देखेँ चम्किलो लामो कपाल, गोरो शरीर मेरो मन झनै अमिलो भएर आयो, आँखाहरू आँशुले टम्म भए । अनि मैले त्यो ठाउँमा आफूलाई राखेर सोचेँ, त्यसबेलाको समाजले बिधवालाई हेर्ने हेय दृष्टीलाई आत्मसात गरेँ | अनि सम्झेँ ती दुधमुखे छोरीलाई, जसले बाबुको माया त के कुरा ‘बुवा’ या ‘बाबा’ भनेर पुकार्नसमेत नपाउने स्थिति सोच्दासोच्दै एकाएक मेरो मनमा ज्वारभाटा उठ्यो, अब मैले पनि चूप लागेर बस्न हुँदैन, विवाह गरेको एक वर्ष पनि नबित्दै जन्मीइसकेकी छोरीको लागि पनि मैले केही गर्नै पर्छ । मतलव, घरबाहिर निस्केर काम गर्नै पर्दछ ।तर जुन घरमा पुरुषले समेत जागिरे हुँदा ईज्जत जाने डर थियो । जुन घरमा स्वास्नी मानिसको अस्तित्व लोग्ने र उसको परिवारको अघोषित कामदार मात्रै थियो। त्यस्तो घरमा कसरी यस्तो अती नै कठीन कुरो उठाउने ? छोटकरीमा भन्दा, बिरालोको घाँटिमा घन्ट कसरी झुन्ड्याउने ?तर छोरीले ठाने पछि ठान्यो । नेपालीको उखान ‘ब्रम्हमा लागेपछि ईन्द्रको बाबु चन्द्र आएपनि केही लाग्नेछैन’ भनेजस्तै बाबुआमाले सुम्पिएका ब्यक्तिसँग कुरा उठाईयो । अनि त के थियो र, मनमुटावको बिजारोपण भैहाल्यो । दिन बिते, महिना बिते अनि बर्ष पनि बिते म, मेरो जागिरे हुने ढीपी नछाड्ने, स्वीकृति दिनुपर्नेले स्वीकृति नदिने कहीलेकाँही त स्थितिले पराकाष्ठा नै पार गर्दथ्यो, अनी सम्झौता हुन्थ्यो अब जागिरको कुरा नउठाउने शर्तमा अर्को पक्षको भनाई हुन्थ्यो, त्यत्रो घरकी बुहारीले घर बाहिर काम गर्न थालेपछि दुनीयाँले के भन्छ ? हाम्रो इज्जत र शाख कहाँ पुग्छ ?
अन्त्यमा बर्षौंपछि भएपनि एक दिन घरकै एक मननिय सदस्यको सहयोग र मद्दतले जागिर खाएरै छाडियो । जुन दिन त्यो निर्णयले कार्यरुप लियो, त्यो दिन दशैँको फुलपातीको दिन थियो† निर्णय सुनेपछि, घरमा त्यति ठूलो चाड हुँदा पनि धेरै ठूलो मानसिक तनाव भोग्नु पर्यो । अलिक दिनसम्म बोलचालसम्म बन्द भयो । त्यसपछिका दिनहरू त अझै धेरै मानशिक तनावमा बिते घरका मानिसहरूबाट आफने सामुन्ने , ‘लोग्नेलाई हामीले दिनभर भुलाएर राखिदिनु परेको छ, स्वास्नी जागिर खान हिँड्नु पर्ने’ भन्ने आरोप पनि सुन्नु पर्यो । आमाको पालामा आमाले जागिर खाने जमर्को गर्दा जे सुन्नु परेको थियो, झन्डै बीस बर्ष पछि आफ्नो पालामा पनि त्यही घटना र परिस्थिति दोहोरिएको थियो ।
तर जे जसो भए पनि ठूलो हिम्मतका साथ घर बाहिर निस्कने प्रयास सफल भएरै छाड्यो । त्यो स्थितिको सम्झना गर्दा मलाई लाग्छ मेरो जीवनको अवस्था हावाले टन्न भरिएको त्यो भकुन्डोको जस्तो थियो, जसलाई भुईंमा बेस्सरी थचारियो तर त्यसले उल्टो प्रतिक्रिया लियो |

मलाई आज पनि त्यो दिन याद छ, जुन दिन पहिलो पटक विवाह पश्चात् ईन्द्रचोकको कपडा पसलमा कसैको साथ लागेर कपडा कि; गएकी थिएँ (त्यती बेला लुगाफाटो पनि घरमै आईपुग्थ्यो, इन्द्रचोकको हनुमान साहुको कपडा पसलबाट थुप्रै धोती चोलो ल्याएर घरमै छनाईन्थ्यो)† पसलमा पुगेपछि पल्याक पुलुक यताउती हेरेर, कसैले नदेख्ने र सकेसम्म कसैले पनि नसु;े गरेर पसलेसँग, ‘यो कपडा मिटरको कति पर्छ हँ ?’ भनेर सोधेकी थिएँ ।
फेरी जीवनले एक्कासी अर्को मोड लीयो† बाबुआमाले डोरयाएर पठाएको ब्यक्तिसँग जीवन बिताउने सम्झौता गर्दागर्दै तेईस बर्ष बितेको त पत्तो भएन तर कुरा नमिलेको भने सदानै खट्कीइरहृयो । जुन धनलाई उद्देश्य बनाएर एउटी सानी केटीको जीवन बगाईएको थियो, त्यो धनको त एक अंश पनि नलिएर आत्मनिर्भरताको बाटोमा अगाडि बढियो । यसैक्रममा एकदिन छोराछोरीकै अग्रसरतामा शान्तिका साथ जीवन बिताउने निर्णय गरेर तेह्र बर्षको बालख छोरालाई अगी लगाउँदै चिन्नु न जान्नुको देशमा शुन्यबाट यात्रा शुरु गर्ने निर्णयका साथ जहाजमा चढेँ ।
आज देश छाडेको दश बर्षको अबधिमा पनि उपलब्धि शून्य जिन्दगी बिताउनु परेको छैन। आफूले जन्मदिएका दुई सन्तानको लागि लिनुपर्ने जिम्मेवारी पूरा गरेर उनीहरूलाई आत्मनीर्भरताको पाठ पढाउन सकेँ । मेरो जीवनमा त्यो भन्दा सार्थक कुरो अब के नै बाँकी होला र ? अरु त केबल तपशीलकै कुरा भएर रहन्छन ।

प्रकाशक: अक्क्षर क्रियशन
लेखकः अमृता लम्साल
साभारः स्वअस्तित्वको खोज पुस्तकबाट
पुस्तक सम्पादनः अर्चना थापा

 

 

Facebook Comments