विवस्त्र रामायण

प्रकाशित मिति :   July 20, 2018           Sabasta Entertainment



Kumari bank

 

 

 

अर्चना थापा –

 

 

एकाएक मधेस बन्दको सूचनाले सबै बाटामा अलपत्र परे । एउटा ट्रक र दुई मोटरसाइकल जलाइयो भन्ने समाचार आएपछि प्रहरीले सार्वजनिक र व्यक्तिगत यातायातका साधनलाई बाटोमा रोक्न थाल्यो । जनकपुर पुग्न हतारिएको लक्ष्मणलाई समाचारले खासै फरक पारेन । बरूउसलाई माइक्रों बस एकछिन कतै चिया खान रोके हुन्थ्योजस्तो लाग्दै थियो । चालकले माइक्रों बस हुइँकाउँदै ल्याएको थियो।
साँधेको गुन्द्रुक जस्तो गुजुल्टो टाउकामा सिँगारेको नाडीमा रङ्गीचङ्गी फुर्का बाँधेको, कानमा माछामुन्द्रा झुण्डाएकोे चालकले नागबेली राजमार्गको अँध्यारोमा गाडी बेतोडले हाँक्दै ल्याएको थियो । उसको गाडी हुइँकाइ देखेर लक्ष्मणको हंसले ठाउँ छाडेको थियो ।
उसले चालकलाई धेरैचोटि भन्यो, ’ए भाइ, अलि बिस्तारै चलाऊ न !’ तर यम बुद्धको र्याप  घन्काएर स्पिड हानेको माछामुन्द्रेले उसको कुरा सुने पनि नसुनेजस्तो गर्यो । लालगढ पुग्दा प्रहरीले गाडी रोकेपछि  बल्ल ज्यान जोगियो भन्ने भयो।
’अब बन्दसन्द नखुलेसम्म यतै बस्नुपर्ने भयो । खैनीसैनी चुरोटसुरोट खानोस् । बाटो खुल्ने बित्तिकै सुइँकुच्चा ठोक्ने हो । हामी तपैंलाई कुरेर, खोजेर बस्दैनौँ । अहिले नै भन्द्याछ ।’
चालकका कुरा नसकिँदै यात्रीहरु फुतुफुतु बाहिर निस्कन थाले ।
’आउँदो हप्ता होली छ ।यात्रु सुविधालाई ध्यानमा राखेर केही घण्टाको लागि बन्द खोलिन्छ रे।’ गाइँगुर्इँ हल्ला चल्दै थियो ।
लक्ष्मण उभिएकोछेउमा केही पक्की घर र जस्तापाताले छाएका चिया र खाना खाने ठाउँहरु देखिए । उसका आँखा गाढा निलो रङको दुईतले पक्की घरमाथि झुण्डिएको ’ध्रुबेको हुटेल’ लेखेको बोर्डमा पर्यो ।
ऊ ध्रुबेको हुटेल लेखेको रेस्टुरेन्टभित्र पस्यो ।
एउटा कुनाको खाली ठाउँ देखेर बस्यो ऊ । उसको आँखाअगाडिको टेबलमा बसेर ल्यापटप चलाउँदै गरेकी एक्लै युवतीमाथि प¥यो । रेस्टुरेन्टको गल्याङमल्याङसित कुनै सरोकार नराखी ऊ आफ्नै काममा डुबेकी थिई ।

एकै छिनमा लक्ष्मणको खाना आयो ।
लक्ष्मणको ध्यान आफ्नो खानाभन्दा अगाडि बसेकी युवतीमा थियो । ’टुँडिखेलजस्तो खैलाबैला भएको यो ठाउँमा बसेर के लेख्दै
होला ! एक्लै हो वा परिवारसित आएकी हो ?’
एक त युवती ! त्यो पनि एक्लै बसेकी ! उसको ध्यान घरीघरी उतै तानिएको थियो ।कुनै कार्यव्रmममा देखेको हो कि ? ठम्याउन सकेन । खाना सकेर ऊ उठ्यो ।
काम बन्ने ठूलो आशा लिएर काठमाडौँबाट हिँडेको थियोऊ । बन्द खुल्ने प्रतीक्षा गर्नुबाहेक ऊसित अरु विकल्प थिएन ।
रेस्टुरेन्ट बाहिर घाम चर्किन थाल्यो । गाडी रोकेको छेउछाउमा रुखहरु भएकाले अलिअलि चिसो थियो । ऊ माइक्रों बस भित्र पस्यो। पछाडिको सिटमा पल्टेर निदाउने कोसिस गर्न थाल्यो । माछामुन्द्रेको गाडी हुइँकाइले बाटाभरि मुटु थर्किएर आँखा झिमिक्कसम्म गरेको थिएन ।
माइक्रों बस भित्रको नीरवतार भातेनिद्रा मिलेर उसलाई घुप्लुक्क छोपे ।

ध्रुबेको हुटेलभित्र बसेकी मिनाक्षीलाई अचानक जाडो लागेजस्तो भयो ।
मनले डबल एक्प्रेसोको फर्माइस गर्यो । हुन त एक घन्टाअघि ’कफी पाइन्छ ?’ भनेर साहुनीलाई सोध्दा उसले आफ्नो अपमान भएजस्तोगरीअनुहार खुम्च्याएकी थिई । लप्सीका गेडाजस्ता आँखा तरेर ’अहिले चा, कफी केही पाइँदैन’ भन्दै झर्केकी थिई । ल्यापटपमा पढ्दै गरेको आत्मकथाको पाण्डुलिपिले उसलाई अचम्मसित तानेको थियो । लण्डनको प्रतिष्ठित प्रकाशनगृहले दुई हप्ताअघि उसलाई एउटा पाण्डुलिपि पढेर प्रतिव्रिmया दिन अनुरोध गरेको थियो । प्रकाशनगृहको जागिर छाडिसके पनि त्यहाँ रहेका साथीहरुले कहिलेकाहीँ उसलाई पाण्डुलिपि पढ्न दिएर पाठकीय सल्लाह लिन्थे ।

’सरी, अहिले म आफ्नो लेखनमा व्यस्त छु । पढ्न भ्याउँदिन ।’ आफ्नो असमर्थता जाहेर गरेकी थिई ।
तर पछि लेखकको नाम थाहा पाएर आफ्नो कुतूहलता रोक्न सकिन ।
धैर्यता र सहनशीलताको लागि दिइने ब्रह्माण्ड तितीक्षा पुरस्कार जितेकी तथा आर्यनारी मर्यादाकी मोडेल मैथिलीको आत्मकथा बारे थाहा पाउने बित्तिकै उसले तुरून्तै इमेल लेखी, ’म पढेरसुझाव दिन तयार छु ।’
लगत्तै प्रकाशनगृहले उसलाई पाण्डुलिपिका केही अंश इमेल गरेको थियो ।
उसले आफ्नो ध्यानअङ्ग्रेजीमा लेखेको आत्मकथाको पाण्डुलिपिमा केन्द्रित गरी…
प्रेतविधिज्ञः ­मैथिली आघात अनुभव
आत्मकथा लेख्छु भनेर कहिल्यै चिताइनँ । तर आज आफ्ना पाठकहरुलाई नै मनोचिकित्सक र मनोविश्लेषक मान्दै आफ्नो आघात अनुभूतिलेख्ने दुस्साहसगर्दै छु ।
दुईवटा उद्देश्य लिएर म यो आत्मकथा लेख्दै छु ।
पहिलो, मलाई तर्साउने प्रेतहरुलाई सेलाउन चाहन्छु । तसर्थ यसको शीर्षक प्रेतलाई सेलाउने विधिवत यज्ञ, अथवा भनौँ, प्रेतविधिज्ञ राखेकी छु । साथै स्वीकार गर्छु कि पीडा अनुभवलाई भाषामार्फत व्यक्त गर्नु अत्यन्त जटिल कार्य हो । मनका घाउलाई अक्षरसागरले पनि देखाउन सकिँदैन । तर पनिव्यक्त गर्ने प्रयास गर्दै छु ।
दोस्रो उद्देश्य, मेरा जीवनका सन्दर्भ र प्रसङ्गहरु थुप्रै नारीका लागि पाशबन्ध बने । मेरो उदाहरण दिएर जुन स्वानीमानिसलाई’मौन अनुयायी’ र ’भर्ता­प्रतिच्छाया’ बनाइयो उनीहरुसित म माफी माग्दै छु । मेरो मौनतालाई सर्वकालीन स्वीकृतबनाएर अथ्र्याउँदा पनि म मौन रहेँ, जुन कालान्तरमासम्म स्वास्नीमानिसहरुका लागि पीडक र उत्पातक बन्न पुग्यो ।
मेरो जीवन श्री कौशल्यासुत रामानन्दजीकी सहधर्मिणी अथवा भनौँ भर्ता­प्रतिच्छाया बनेर बित्छजस्तो लागेको थियो । एकपत्नीनिष्ठावानकी भार्या–­ रामजाया ! अहिले सुन्दा कम्ता हास्यास्पद लाग्दैन यो परिचय ।

श्री रामानन्दजीसित विवाह भएपछि सबैले भनेका कुरा एउटै सारका हुन्थे, ’तिमी त कति भाग्यमानी ! ओहो, यस्तो पति पाउनु त भाग्यको कुरा हो । अब तिमीलाई अरु के चाहिन्छ र ?अबदेखि पतिको सुख तिम्रो सुख र पतिको दुःख तिम्रो दुःख ।’ यस्तै उपदेशको कोसेली बोक्नै नसक्ने भारी बनाएर भिराइएको थियो ।
कहिलेकाहीँ कुरा मनमा बिज्थे, ’के मेरा पतिलाई पनि उनका परिवारजनले यस्तै सल्लाह दिन्छन् होला ? के मजस्तो भार्या पाउनु उनकोभाग्यको कुरा होइन ? आफ्नो घरपरिवार, नाताकुटुम्ब, साथीसङ्गी छाडेर पतिको घर आएकी मेरो हैसियत के सेविका हुनु मात्रै थियो ? बिरानो परिवेशमा मेरो इच्छा, चाह, रूचि र अरूचिको अर्थ थियो वा थिएन ?
हाम्रो दाम्पत्य जीवनबारे सर्वस्तुत्य ग्रन्थ रचिने कुरा चल्दै थियो । समयलाई अलौकिक कथा चाहिएको थियो । समाजलाई कालजयी आदर्श नायक र नायिकाको खाँचो थियो । साधारण कथाको असाधारण लेखनमार्फत मेरो काल्पनिक स्वरुप निर्माण हुँदै गयो ।
आफ्नो अलौकिक चित्रणमा रम्दैम आफूलाई बिर्सिँदै गएँ ।
अग्रजका उपदेश, विचार र विश्वदृष्टिले मलाई गाल्दै गए । पग्लिँदै गएँ मैन पग्ले सरह र ढल्दै गएँ नयाँ स्वरुप र आचारविचारमा । थाहा नपाउँदै मेरो आफ्नो भन्ने केही बाँकी रहेन । आफ्नो पतिको पछि हिँड्ने मौन छायामा परिवर्तित भएकी आफैँलाई जानकारीभएन ।

योआत्मकथा लेख्न बस्दा मेरा काल्पनिक र वास्तविक दुवैस्वरुप आज मलाई साथ दिन उभिएका छन् । मनले भन्छ– तिमी शक्ति हौ । निडर र निसङ्कोच आत्मकथा लेख । तर मेरोकाल्पनिक स्वरुपले चेतावनी दिँदै भन्छ– तिमीले कालकूट विगत ब्यूताउँने कोसिस गर्दै छौ । भूतकालमा जे भयो, सकियो । बिर्स ।
विगत बिर्सने हर कोसिस गरेँ । तर किन किन निद्रा हराउँदै गयो । सुत्न डर लाग्न थाल्यो । मुटु हल्लाउने सपनाहरुले लखेट्न थाले । आत्तिँदै ब्यूँझिन थालेँ । लोकलाजको कारण चिकित्सकको परामर्श लिन पनि सम्भव देखिएन । दैवीय छवि स्थापित भइसकेको कारण अस्वस्थताको कुरा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह भएको थियो । मानसिक तनावले गिजोलेको बेलामा पनि लोकलाजको कुरा महङ्खवपूर्ण ठहरियो । मेरो बाध्यात्मक मौनताले मलाई अर्कै मैथिली बनाउँदै लग्यो । बन्दी–मैथिली ।
तर एक दिन अनर्थ भयो । लगभग चार वर्षअघिको कुरा हो…
सर्वोत्कृष्ट नारी व्यक्तित्वलाई दिइने विश्वप्रसिद्ध पुरस्कार ’ब्रह्माण्ड तितीक्षा’को घोषणा भएको थियो । पुरस्कार ग्रहण गर्न हामी सपरिवार बनारस पुगेका थियौँ । आयोजकले हामीलाई होटल जानकी इन्टरनेसनलमा बस्ने व्यवस्था मिलाएका थिए ।
भोलिपल्ट भव्य समारोहबीच विशिष्ट ग्रन्थकार, मान्यजन महन्त, धर्माभिमानी पुजारी, राष्ट्रवादीहरु र अग्रज मठाधीशहरुको पवित्रउपस्थितिमा पुरस्कार वितरण कार्यव्रmम राखिएको थियो । पुगेकैदिन साँझ देश र विदेशका पत्रकारहरुसित साक्षात्कार र प्रश्नउत्तर कार्यव्रmम सम्पन्न भयो ।
त्यस दिनको व्यस्तताले गर्दा राति हामी ढिलो सुत्यौँ ।

खै कुन बेला हो… ! आफू बसेको आठौँ तलाको कोठाको ढोका उघारेर अर्धचेत अवस्थामा चिच्याउँदै होटल करिडरमा कुदेँछु म । लिफ्टअगाडि बसेको गार्ड मलाई समात्न पछिपछि कुदेको थियो रे । लबीको अर्को कुनामा रहेको झ्याल खोलेर हाम फाल्न खोज्दै थिएँ रे गार्डले च्याप समातेछ । कसैले फोन गरेर लबीमा सिकायत गरेछ । लबी म्यानेजर आइपुग्दासम्म करिडोर छेउछाउका ढोका धमाधम खुल्न थालेका थिए । नाइट गाउन पहिरेको बेला अर्धविक्षिप्त अवस्थामा रोइकराइ गरिरहँदा मलाई गार्डले बोकेको रहेछ । श्री रामानन्दजीलाई शरम लागेर मर्नु भएको थियो अरे ।
मलाई जाँच्न होटलको इनहाउस डाक्टरलाई तुरून्त उपस्थित गराइयो । डाक्टरलाई मेरो रोग पत्ता लगाउन केही बेर लागेन ।उसको मेडिकल रिपोर्ट तयार भयो ।
चरम डिप्रेसन र आत्मघाती प्रवृत्ति !

केही छिनपछिको सामान्य कुराकानी दौरान डाक्टरले श्री रामानन्दजीसँग पनि मेराबारे सोध्नुभयो । तर उहाँले असजिलो मान्दै ’पहिलोचोटि यस्तो भएको’ भनेर ढाँट्नुभयो ।
डाक्टरका अनुसार सहनशील, क्षमाशील र मौन रहने प्रयासमा म आफ्नो त्रासदीपूर्ण अनुभव र विरोधलाई दबाउने प्रयास गर्दै थिएँ । सायद सार्वजनिक पुरस्कारको कार्यव्रmमले मेरो सार्वजनिक अपमानको विगताघातलाई पुनःजागृत गराएको थियो । अपमानका झिल्का र प्रतिशोध दावाग्नि हरर्र बलेका बेला राति चिच्याउँदै भागेकी रहेछु। जति मौन बसे पनि र जति पुरस्कार जितेपनि, विगतका कुत्सित कलङ्कअभियोगहरु कहिल्यै निको नहुने घाउ बनेका रहेछन् ।

म डिप्रेसनमा छु भन्ने थाहा पाएपछि श्री रामानन्दजी चिन्तित हुनुभयो । उहाँको चिन्तामा मेरो स्वास्थ्यको पीर भन्दा बढी लोकलाजको डर थियो । डिप्रेसनको कुरा सार्वजनिक हुने डर सबैको अनुहारमा झुल्किन थाल्यो । सहनशीलताको लागि दिइने पुरस्कारबाट मेरो नाम फिर्ता हुने आशङ्का उत्पन्न भयो । डिप्रेसन र आत्मघाती ’रुग्ण प्रलाप’कोसमाचार सार्वजनिक भयो भने रचिएका धर्मग्रन्थहरुमा उल्लेख गरेजस्तीसहनशील र क्षमाशील छैन भनेर हल्ला हुन्छ भन्ने कुरो थियो । त्यति मात्रै होइन, डिप्रेसनका कारणबारेमिडियामा प्रश्न उठ्न सक्ने पनि निश्चित देखियो । मर्यादा पुरूषोत्तम श्री रामानन्दजीले मेराबारे गरेका निर्णय र परीक्षाहरुबारे महिला आयोगमा केस बन्न सक्ने आशङ्का हुन थाल्यो । विद्वान् धर्मग्रन्थकारर धर्मनिष्ठावान्हरुको आस्था बिथोलिने डर पनिभयो ।
मेरो अस्वस्थताको खबर सार्वजनिक हुँदा लहरो तान्दा पहरो थर्किने डरलाग्दो स्थिति सिर्जना भयो ।
त्यस दिन पनि अरु दिनहरुजस्तै मेरो सम्मतिबिनाको सर्वसम्मतिले मेरो डिप्रेसनको कुरा सार्वजनिक नगर्ने निर्णय गर्यो । तर त्यो निर्णयले गर्दा मलाई पनि एउटा फाइदा भयो । मलाई पौराणिक ग्रन्थकी नायिका बनाउन गरिएका विभिन्न खालका राजनीतिबुझ्न थालेँ।ग्रन्थकारिताको राजनीति, पुरस्कारको राजनीति, लोकप्रियताको राजनीति, विश्वास र आस्थाको राजनीति, धर्मको राजनीति र स्वास्नीमानिसको नाममा गरिने राजनीति ।

त्यस दिन सूर्य उदाउनुभन्दा पहिला पेनकिलर र डिप्रेसनको औषधी खाएँ । दिनभरि औषधीले लठ्ठ बनायो । सूर्य अस्ताएपछि आयोजकले सुनौलो जरीमा उनेको गुलाफको माला पहिराएर स्वागत गरे । तूल र झण्डाले सिँगारेर झकिझकाउ बनाएको मञ्चमा आसिन गराए । एकपछि अर्को वक्ता मञ्चमा आउँदै मेरो सहनशीलता, पतिव्रता, क्षमाशीलता र त्रिकालदर्शी सिद्धसम्पन्नाशक्तिबारे वाक्यांश प्रदर्शन गरे ।म सहनशीलताको अभिनय गर्दै मञ्चमा बसेँ । जब मेरो नाम बोलाइयो, दर्शकहरुको तुमुलध्वनिले हललाई उचाल्यो । मैले पुरस्कार थापेँ ।साँचै भन्ने हो भने, मैले आर्य नारीगुण भनेर परिभाषित गरिएका गुणहरुको उत्कृष्ट अभिनयका लागि पुरस्कार थापेँ । अभिनयमा पारङ्गत भएँ म ।
एकै दिनमा विरोधाभासी जीवन बाँच्न सिकेँ मैले । आडम्बर र अभिनयको दोसाँधमा मानसिक आघात र प्रतिशोधको दावाग्निलाई लठ्याएर सहनशीलताको अभिनय गर्न थालेकी थिएँ । मौन अभिनयमा पोख्त हुँदै गएँ म ।

तर पेनकिलरले मेरो मानसिक तनाव निदान गर्न सकेन । अग्निपरीक्षाको नाममा गर्न खोजिएको अक्षतयोनि परीक्षाको अपमानले झन्झन् विकराल रुप लिँदै गयो । बुझ्न थालेँ, मर्यादित श्री रामानन्दजीका अमर्यादित परीक्षाले मलाई मात्रै होइन, अरु थुप्रै स्वास्नीमानिसलाईभोग्या र पवित्रा दृष्टिकोणमा विभाजित गरेका रहेछन् ।सतित्व, पतित्व, नारीत्वजस्ता परीक्षाहरु दौरान मेरो सव्रmोधमौनतालाई सर्वकालीन सहमति बनाएर अथ्र्याइयो ।
एकातिर डिप्रेसन !अर्कोतिर लठ्याउने औषधीको लत !नर्वस ब्रेकडाउन हुने बेलासम्म पनि म आफ्नो स्वास्थ्यप्रति सचेत रहिनछु। नर्वस ब्रेकडाउनपछिलाग्दै छ अब मसित हार्न केही बाँकी छैन ।
त्यसैले अब आफ्नाआघातका कुरा, मौन आबेशकाकुरा रभूतकालीन पीडकप्रेतका कुरा सबै लेख्न चाहन्छु । रिस उठेको बेला अङ्गार ओकल्न चाहन्छु।
हुन त मेरा अनुभवलाई व्यक्त गर्ने शब्दहरु अपर्याप्त छन् । जेजस्तो भाषामा आत्मकथा लेखे पनि व्यथापूर्ण कथालाईजस्ताको तस्तै बयान गर्नु असम्भव छ ।तैपनिबाँचेको अनुभवलाई पानामा जीवन्त बनाउने प्रयास गर्छु । अब लोकलाजको डरले तर्साउन छाडेको छ ।किनकि अब मसित हार्न बाँकी केही छैन ।
अब म मौनताको मुकुण्डो त्यागेर आफ्नो मानवीय स्वरुप अँगाल्ने प्रयास गर्दै छु ।किनकि…
छोरी, बहिनी, सहयात्री र आमा ।
मोहिनि, मुग्धा, जया, विजया र ज्ञाता
सबै हुँ म । बहुलस्वरुपनारी हुँ म ।
कहिले गार्गी, आत्रेयी, अनुसूया र अरुन्धती
थुप्रै रुप, नाता र कर्मक्षेत्रमा बाँडिएकी
प्रकृति, शक्ति र संहारिनीको सकल स्वरुप
नारी हुँ म ।
पाण्डुलिपि खरररर पढ्दै गई मिनाक्षी ।
कुनै प्रसङ्ग निरस, कुनै रोमाञ्चक, कुनै अपत्यारिलो र कतै कतै निस्सासिएजस्तो अभिव्यक्ति ! सार्वजनिक छवि बनाएकी मैथिली र आफ्नैकथाकी पात्र मैथिलीमा जमिन आकाशको फरक रहेछ । आदर्श आर्यनारीको कीर्तिमान राखेर अनेकौँ पुरस्कार र पदवी हात पारेकी मैथिलीको आत्मवृतान्त पढ्दा उसको मन एकतमासको हुँदै थियो ।
मिनाक्षी पढ्दै गई । ल्यापटपको स्क्रीनमा पानाहरुस्कोर्ल हुँदै तलतल सर्दै गए ।
उसलाई लाग्यो, आफ्नो जीवनका अँध्यारा पाटाहरु पाठकलाई देखाउन सक्नु निश्चय नै दुस्साहस कार्य हो । सबै लेखकले यस्तो आँट गर्न सक्दैनन् ।
आत्मकथामा आत्मीयजनबाट पाएको उपेक्षा, चित्त दुखाइ, अपहरणकर्ताको गुणगान र अरु थुप्रै कुरा थिए । आफ्नो कथाप्रति इमानदार हुने प्रयासमा मैथिलीका शब्दविद्रोह विस्फोटक भएर ल्यापटपका पिडिएफ फाइलभरिछरिएका थिए ।
आधा जति पढेर मिनाक्षीले ल्यापटप बन्द गरी । आघातको पीडा ल्यापटपबाट निस्केर बाहिर फिँजिन थाल्यो । पढ्नमा व्यस्त हुँदा पिसाबले बेस्सरी च्यापेको पनि बेवास्ता गरेकी रहिछ । कोखातिर अँठ्याउन थालेपछि असहनीय भयो । ट्वाइलेट खोज्दै ऊ रेस्टुरेन्टको पछाडिसम्म पुगी ।
ट्वाइलेट नभेटाउँदा दिक्क लाग्यो ।

’हरे ! यो देशका मान्छेले राजमार्ग छेउमा होटल र रेस्टुरेन्ट खोलेर पैसा कमाउन सिके । मासु भातसित ह्विस्कीका क्वाटर र फुल बोतल बेच्ने पारा पनि ल्याए । तर महिलालाई यात्रु र ग्राहक भनेर पत्याएनन् ।’
’साथीलाई भोलि कल गर्छु भनेजस्तै नेचर कललाई भोलि गर्छु भन्न नमिल्ने !’ आफैँसित रिस उठ्यो उसलाई ।
रेस्टुरेन्टपछाडि उभिएका केही शिश्नधारीहरु ढाड फर्काएर मूत्रविर्सजन स्वतन्त्रताको निर्धक्क उपभोग गर्दै थिए ।
’जाबो पिसाब फेर्न पनिविभेद !निसङ्कोच र निर्लज्ज स्वतन्त्रताकोसहुलियतसमाजका केहीलाई… ?’ एकमनले भन्यो, ’जाऊँ, त्यै समूहमा मिस्सिएर ढाड फर्काएर विसर्जन स्वतन्त्रताको स्वाद चाखौँ । निर्धक्क होस्, वा निर्लज्जता ! हेरौँ कस्तो ‘फिल’ हुन्छ !’
तर फेरि मन मानेन । उसले निकै पर सानो रूख देखी । सानो भए पनि रुखपछाडि छेलिएर पिसाब फेर्ने ठूलो आधार भेटिएजस्तो भयो।रूख पछाडिको भुईँ ट्वाइलेट नभएको अव्यक्त गुनासोले दुर्गन्धित थियो । सुबिस्तासित उभिने सुकिलो भुईँसम्म थिएन । काँधको ब्याग बिसाउने ठाउँ नदेखेर ब्यागलाई काँधमा अप्ठ्यारो गरीछड्के पारेर भिरी । नाक थुनेर पिसाब फेरी ।
बल्ल जीउ हल्का भयो । फोहरबाट जोगिँदै पाइला चाल्न खोज्दा कसो कसो स्यान्डलले फोहर कुल्चिन पुगेछ, बान्ता होलाजस्तो भयो । फोहरी स्यान्डल लिएर पाइला सार्न गाह्रो भयो । यस्तो ठाउँमा धारा खोज्नु आकाशको फल खोज्नु सरह थियो ।
’हैट, पानीको धनी देशमा पानीको अभाव !’
मिनरल पानीको बोतल किन्न फोहरी स्यान्डल घिसार्दै ऊ ध्रुबेको हुटेलभित्र पसी ।

ध्रुबेको हुटेल अगाडि एउटा प्लास्टिकको कुर्सी लडेको थियो ।
मिनाक्षीले कुर्सी टिपी । कटहरको ठूलो रुखमुनि घाम छेकेर कुर्सी राखी । त्यतिकैमा…
’कहाँ जाँदै हुनुहुन्छ ?’ कसैले सोध्यो ।
टाउको घुमाएर प्रश्न गर्ने मान्छेतिर हेरी । छोटो जवाफ दिई, ’काँकरभिट्टा ।’
चिनेजस्तो देखिने अपरिचितासित गफिन मन लाग्यो लक्ष्मणलाई । बीस मिनेटभन्दा बढी सुत्न सकेन । बन्द खुलेको थिएन । गफ गरेर समय बिताउने कोसिस गर्यो ।
’एक्लै यात्रा गर्दै हुनुहुन्छ ? अघि तपाईँलाई भित्र बसेर लेख्दै गरेको देखेको थिएँ ।’
’तपाईँ कोसँग यात्रा गर्दै हुनुहुन्छ ? आफ्नो आमा कि बाबासित ?’
लक्ष्मणको प्रश्न सुनेर मिनाक्षीले आफ्नो कुर्सी लक्ष्मणतिर फर्काउँदैप्रतिप्रश्न गरी । लक्ष्मणले व्यङ्ग्य बुझ्यो र हाँस्यो ।
एकछिन मिनाक्षीलाई माथिदेखि तलसम्म हेर्यो ।अनुहार परिचित लागे पनिपरिचय खुलेन । श्यामल रङरोगन,हाइलाइट गरेको लामो कैलोकेश, सूरजमुखीफक्रेका जस्ता आँखा, टुपुक्क परेको सानो नाक, नाकमा प्रचलित नयाँ फैसनको बुलाकी, कानमा हरियो मोतीको झुम्का, हातभरि हरियो चुरा, पालेका नङहरुमा रातो नेलपलिस, खाइलाग्दो अग्लो शरीर, खुट्टामा खिप भएको कालो हिल स्यान्डल, स्लिवलेस सेतो सलवार कुर्तामा हरियो सुती सल । युवती वास्तवमैसुन्दर देखिन्थी।
’तपाईँले मलाई चिन्नुभएनजस्तो छ । तपाईँ लक्की, सरी लक्ष्मण होइन ? तपार्इँ त अहिले पनि उस्तै ह्यान्डसम !’ लक्ष्मणको निधारहेर्दै मिनाक्षीले जवाफ दिई । अर्को प्रश्न गरी, ’तपाईँको दाइ कहाँ हुनुहुन्छ ? उहाँ पनि यहीँ हुनुहुन्छ ?’
लक्ष्मण अकमक्क पर्यो । आइफोन सेवेनमा खेल्दै गरेका उसका सुलुत्त परेका औँलाहरु प्रश्न सुन्नासाथअडिए ।
’दाजु त काठमाडौँमा हुनुहुन्छ ।’
’तपाईँको दाइको बारेमा सुनेर दुःख लाग्यो ।’
लक्ष्मणलाई अरिँगालले चिलेजस्तो भयो, ’दाजुको कुरा यसले कसरी थाहा पाई ?’
सोच्यो– काठमाडौँ जिल्ला अदालतमा दाजु विरूद्ध मुद्दा चल्दै छ । विदेशी मुद्रा विनिमय भष्ट्राचार र किर्ते दस्तखत अभियोगमा अरुलेदाजुलाई फसाए । छक्कापञ्जा नजान्ने दाजुलाई नियम कानुनबारे ज्ञान छैन । अदालती कार्यवाहीमा पैसाको नास भएको छ । त्यसैले थप रकमको बन्दोबस्त गर्न जनकपुर जानै पर्यो । तर यसलाई कसरी थाहा ?
’को हो यो ? अदालतकी कारिन्दा हो कि ?’ ठम्याउन सकेन । अर्को प्रश्न सोध्यो, ’तपाईँ के काम गर्नुहुन्छ ?’
’लौ, अझै चिन्नुभएन मलाई ? वर्षौअघि भेट भएको थियो । म मिनाक्षी हुँ !’
’अहिले के काम गर्दै हुनुहुन्छ ?’
’खासै केही छैन । अहिले लेखनमा व्यस्त छु । विवस्त्र रामायण लेख्दै छु ।’ सानो जवाफ दिई ।
’कुन रामायण ?’ मिनाक्षीको मुखबाट ’रामायण’ सुनेर हौसियो ऊ ।
’विवस्त्र रामायण भनेको परम्परावादी पाखण्डबिनाको नाङ्गो रामायण ।’ दुबै गालामा बनेका सानो खोपिल्टोले मिनाक्षी झन् राम्री देखिई ।
’सयभन्दा बढी भाषामा रामायण लेखिएका छन् । कसले पढ्छ अचेल रामायण ?’ मिनाक्षी जिस्केजस्तो लाग्यो लक्ष्मणलाई । पत्याएन ।
’तपाईँले भनेको सत्य हो । थुप्रै रामायण लेखिएका छन् ­ वाल्मीकि रामायण, तुलसीदास रामायण, अगस्तेय रामायण, भानुभक्त रामायण र अरु अनगिन्ती रामायण ! तर सबै रामायण फोटोकपीका पुनर्उत्पादित कपी हुन् । ती कपीहरु नरदृष्टिले देखेका र लेखेका नरलीला कलेवर हुन् !’
मिनाक्षीको कुरा पूरा हुन दिएन लक्ष्मणले । व्यङ्ग्यात्मक तरिकाले भन्यो, ’ओहो, त्यसो भए तपाईँ आफूलाई मात्रै सही, आफ्नो तर्क मात्रै ठिक र आफ्नो विश्वदृष्टि मात्रै सर्वोत्तम ठान्ने अतिवादीबौद्धिक उद्धारकर्ता हो !’

’रामायणमा अन्यायमा परेकापात्रका दृष्टिकोणबाट अथवा भनौं फरक दृष्टिकोणबाट रामायण लेख्दै छु ।’ लक्ष्मणको खिसीट्युरी बुझे पनि नबुझेजस्तो गरी मिनाक्षीले ।
’राम केन्द्रित रामायण ?’ लक्ष्मणले मिनाक्षीको उत्तर बुझेन ।
’हा… हा…,सबै रामायण रामका लीलाबारेत लेखिएका छन् ।’
’त्यसो भए सीतालीला बारे हो त ?’ लक्ष्मणको कुतूहलता बढ्दै थियो ।
’होइन । मैथिलीले तआत्मकथा लेख्दै छिन् । लण्डनको प्रकाशनगृहले छाप्ने भएको छ । सुनेकी छु त्यसका लागि उनलाईठूलै अग्रीम रोयल्टी दिएको छ रे । आफ्नो एकपत्नीवान् पतिको फेसबुकका रसिक च्याटहरुबारे पनि लेखेकी छिन् रे । तपाईँका दाजुलाई मर्यादा पुरूषोत्तम बनाउनर देखाउनवाल्मीकिले ठूलो शब्दलीलारचेका रहेछन् । मैथिलीलाई बिसन्चो भएकोले आत्मकथाको सम्पादन कार्य सुरू हुन सकेको छैन भनेर सुनेकी छु…’कुरा गर्दागर्दै अचानक मिनाक्षीले केही सम्झी र थपी, ’आहा ! तपार्इँको दाइभक्त बजरङ्गीले त मैथिलीलाई ठूलै धोका पो दिएका रहेछन् त!’
मिनाक्षीका आँखा लक्ष्मणको गोरो लामो अनुहार र निधारको खत हुँदै आँखामा आएर अडिए । ’यतिको उमेर भए पनि जीउ अझै मेन्टेन गरेको छ । हेर्दा आकर्षक, तर सोचाइ उही !मन त लाग्छ यसलाई…’
बजरङ्गीले दिएको धोकाको कुरा मिनाक्षीको मुखबाट सुनेर लक्ष्मणको उज्यालो अनुहार एकाएक बादलले ढाकियो ।
’भाउजूलाई दाजुले धेरै काम नगर भनेकै हो । तर डलर­–पचाउवादीहरुले भाउजूलाई दाजु विरूद्ध भड्काएका रहेछन् । काम सजिलो होस् भनेर बजरङ्गीलाई भाउजूको म्यानेजर बनाएको हो । तर उसैले धोका दिन्छ भनेर के थाहा ?’
जजको अगाडि पैरवी गर्ने वकिलजस्तै उसले दाजुको पक्षमा बहस अघि सारे पनि मनमनै अचम्भित थियो, ’बजरङ्गीले दिएकोधोकाबारे यसले कसरी चाल पाई ? दाजु र भाउजू बीचको अमिलोपनका कुरासमेतयसलाई जानकारी रहेछ । यो पक्कै कुनै रिपोर्टर हो । रिपोर्टरले त यस्ता कुरा सुँघेर थाहा पाउँछन् ।’ उसको मनमा हुरीबतास चल्न थाल्यो ।
’तपाईँका दाइले मैथिलीको अमानवीय परीक्षाहरु लिए । मान्छेलाई कमिसन दिएर आफ्नो पक्षमा रामायण लेख्न लगाए ।’ उपरखुट्टी लगाएर बसेकी मिनाक्षीले खुट्टा हल्लाउँदै भनी।
’विरोधीका बतासे गफमा विश्वास गर्नुहुँदोरहेछ ।’ लक्ष्मणले प्रतिकार गर्यो ।
’कस्तो बतासे गफ ? मैथिलीको आत्मकथामा असन्तुष्टिका थुप्रै पनि प्रसङ्ग छन् रे । उहिल्यै जमानामामहिला आयोग थिएन । महिला मन्त्रालय र मानव अधिकार आयोग पनि थिएन । उनको पुस्तकले अबकोकोमाथि औँला उठाउने हो । शङ्का गरेर मैथिलीमाथि निगरानी राख्न बजरङ्गीलाई म्यानेजर बनाइएको रे भन्नेसमेत हल्ला चल्दै छ !’ लक्ष्मणलाई जिस्क्याउँदै मिनाक्षीले आँखा झिम्क्याई ।
’त्यो धोकेबाज हनुमानको नामैनलिनोस् । साले, त्यसैले गर्दा दाजुलाई सङ्कट आइलागेको हो ।’ लक्ष्मण भड्क्यो ।
मिनाक्षीले थपी, ’किन? आधुनिक राष्ट्रवादीहरु देशमा रामराज्य ल्याउने तयारी गर्दै छन् । तपाईँको दाइले समेतरामराज्य पार्टी खोल्ने कुरा गर्दै छन् अरे। बजरङ्गीबिना रामराज्य पार्टी खुल्नै सक्दैन । नयाँ पार्टी खुल्ने सम्भावना देखेर चीनको एउटा कम्पनीले महिलाहरुलाई चाहिने सतित्व अग्निरोधि कवच बजारमा ल्याउँदै छ अरे ! अनि कवचको विज्ञापनमा मैथिलीले नै खेलेकी छिन् रे । तर विज्ञापनको पारिश्रमिक बजरङ्गीले दम्पच पारेछन् भनेर हल्ला छ । तपाईँ नै भन्नोस् रामराज्यकी नायिकालाई यसरी धोका दिने आँट कसको ?सङ्कटमोचन बजरङ्गीको काम सङ्कट टार्ने हो । निम्त्याउने त होइन । पार्टीलाई चाहिने पैसा कमाउने नयाँ बाटो ! पार्टी खोल्न भनेर पठाएको डलर र युरो आफ्नो खातामा र दोष जति बजरङ्गीतिर?’
बजरङ्गीको धोकाबारे मैथिलीले पाण्डुलिपिमा लेखेकी थिई । तर रामराज्य र राजनीतिक पार्टीको कुरा मिनाक्षीको काल्पनिक अतियुक्ति थियो ।

’बजरङ्गीले धोका देलान् भनेर सपनामा पनि चिताएका थिएनौँ ! तर त्यसमा भाउजूको पनि गल्ती छ । आत्मरतिमा रमाउँदै झन् बढी सहनशील हुने अभ्यास गर्दै हुनुहुन्थ्यो । बजरङ्गीसित ठगिनु पनि सहनशील हुने नयाँ तरिका हो कि ?’ लक्ष्मणले लामोसुस्केरा लियो ’…पहिला सुनको हरिण देखेर लोभिनुभयो । त्यसैले विपद् ल्यायो । सुगालाई बन्दी बनाएर आफ्नो विरह आफैँनिम्त्याउनुभयो । बोल्न पर्ने बेलामा पनि नबोलिदिने । मनमा के छ बुझ्नै गाह्रो । दोष किन दाजुलाई ?’
दाजुको बचाउ गर्ने प्रयासमा नचाहँदा नचाहँदै पनि लक्ष्मणले भाउजूको आलोचना गरिहाल्यो । तर घरभित्रको विभीषण को हो ठम्याउनसकेन । दाजुको छवि धमिल्याउने कुरा लक्ष्मणको लागि असह्य थियो ।

लक्ष्मणका जण्ड प्रतिवाद सुनेर मिनाक्षीलाई पनि झनक्क रिस उठ्यो । हात हल्लाउँदै कुरा गर्दा उसले लगाएका काँचका चुराहरुले पनि रोष प्रकट गरे ।
’हद छ बा….! तपाईँ दुवै दाजुभाइ आफ्नो विवेकले सोच्नुहुँदो रहेनछ । आमालाई दोष लगाएर घर छाडेर हिँड्नुभयो । अरुका कुरा सुनेर मैथिलीमाथि शङ्का गर्नुभयो । परीक्षा जति सबै लिन तयार । तपाईँको दाइलाई परीक्षा लिने लास्टै सोख रहेछ । हेडमास्टरको जागिर खाएको भए पाक्षिक, अर्धवार्षिक, वार्षिक र दैनिक परीक्षा… ! जहिले मन लाग्यो परीक्षा लिन मिल्थ्यो । विचरी मैथिलीलाई सास्ती हुने थिएन ! तपाईँहरु आफ्ना गल्ती नकेलाउने । तर दोष सबै अरुतिर तेस्र्याउने ?’
मिनाक्षीको रोष देखेर लक्ष्मणलाई शङ्का भयो ’यो भाउजूकी साथी हो कि उर्मिलाकी साथी हो ? पछिल्ला समयमा उर्मिला र भाउजूबीच दोस्ती गहिरिएको थियो । उनीहरु एक अर्काका कपालमा मेन्दी लगाएर घण्टौँ गफ गरेर बस्थे । उर्मिलाले भाउजूलाई फेसियल गरिदिन्थी । नङ काटिदिन्थी । दिदी बहिनी भएर बसेका दिनमा भाउजूले उर्मिलासित मनका बह पोख्नुभयो कि ? जे भए पनि लोकलाजको ख्याल पनि त गर्नुपर्छ ? अरुलाई नसुनाउनु पर्ने !के भन्छन् मान्छेले ? लौ, हेर… !’’
परिहास गरेजस्तो मिनाक्षीको कुरा उडायो, ’तपाईँले रामायण राम्ररी पढ्नु भा’ छैन ?’
’लेखिए जति सबै रामायण पढेको दाबी गर्दिनँ । तर फोटोकपीका कपीहरुमा महिमामण्डित मर्यादापुरूषोत्तम र उनका भातृभक्त लक्ष्मणको अचाक्ली गुणगान छ । ताडका, शूर्पणखा, मन्दोदरी, उर्मिला, अहिल्या, शबरी, त्रिजटा, कैकेयी, मन्थराहरु उपेक्षित रहेका छन् ।’ मिनाक्षी तर्क गर्न तम्तयार थिई ।

शूर्पणखाको नाम सुन्ने बित्तिकै पड्क्योलक्ष्मण, ’त्यो कामोत्तेजक शूर्पणखाको कुरा नगर्नोस्…’, तर तुरून्तै माफी माग्यो ’माफ गर्नुहोला ’पोलिटिकल्ली करेक्ट’ भइन । अहिले त राक्षसलाई राक्षस र कालीलाई काली पनिभन्न मिल्दैन ।’
मिनाक्षी हाँसी, ’तपाईँ निर्धक्क भएर राक्षसी र काली भन्न सक्नुहुन्छ । तपाईँलाई थाहा रहेनछ, हिजोआज युवतीहरुले आफ्नो साहित्यिक उपनाम शूर्पणखा लेख्न थालेका छन् ! वाल्मीकिले शूर्पणखालाई ’कामोत्तेजक कलङ्किनी’को रुपमा प्रस्तुत गरेर ’स्लट शेमिङ’ गरेको कुरा धेरैले बुझिसकेका छन् । आफ्नो इच्छा व्यक्त गरेको कारण शूर्पणखालाईसजाय दिइयो । आइमाईले इच्छा गर्न हुन्न… नत्र दण्ड पाउँछे भनेर आइमाईहरुको सातो लिइयो।वाल्मीकि त निकै बाठा रहेछन् ।रामायणलार्ई नैतिक नियमको साँस्कृतिक आलेख बनाएर अथ्र्याए ।’
’कस्तो नैतिक नियमको साँस्कृतिक आलेख ? ह्याड्सम लोग्नेमान्छे देखेर त्यो कामोत्तेजक शूर्पणखायौनयाचना गर्दै आई ! छिः ! लाज पनि लागेन । दाजुले त भनेकै थिए म विवाहित हुँ, एकपत्नीवान हुँ । तर कामोत्तेजनामा सुद्दी हराएको बेला उसले सुनिनँ। कहिले दाजुतिर त कहिले मतिर ! हुन त हामी पनि अलिबेर ऊसित जिस्केकै हो । तर नकचरी हुन थालेपछि नाक छप्काउन पर्ने बाध्यता आयो ।’ पुराना घटना सम्झेर लक्ष्मण फिस्स हाँस्यो ।
’अचम्म छ !गुणवती आइमाईनभएको कारणले गर्दाशूर्पणखालाई दण्ड दिएको हो त?उसको प्रस्तावलाई याचना भनेर बुझ्नु नै तपाईँहरुको पहिलो गल्ती हो ।तपाईँहरुको गलत बुझाइले गर्दा नै रामायणमा दुःखान्त प्रसङ्ग थपिँदै गए। दोष शूर्पणखामाथि थुप्रियो ।तपाईँहरुको गलत बुझाइले गर्दा नैकथा, पात्र, घटना,र नीति­निष्कर्षहरु स्वाभाविकताभन्दा पनि आदर्श महात्मय बन्न पुगे ।’
’बुझिनँ?’ लक्ष्मणले बुझेन ।
’शूर्पणखाले आफ्नो इच्छा निसङ्कोच व्यक्त गरेकै कारण अस्त्रशस्त्र भिरेका दिव्यपुरूषहरुले ’स्लट शेमिङ’गरे । सुनसान ठाउँमा एक्ली केटी, सरी एक्ली राक्षसी देखेर ऊसित जिस्केर रमाइलो पनि गरे । गलत बुझाइले गर्दाशूर्पणखाको इच्छाअभिव्यक्ति अनैतिक ठहरियो तर तपाईँहरु जिस्केको नैतिक… ?’
’होइन त्यस्तो कुरा होइन… ।’
मिनाक्षीले बोल्न दिइन ।
’…दण्डको त्रास देखाएर, आदर्शप्रेरित साँस्कृतिक आलेख तयार गरियो । नैसर्गिकयौनेच्छा र प्रेमेच्छालाई पतीत स्वेच्छाचारी राक्षसीको विद्रूप इच्छा भनेर परिभाषित गरियो । इच्छा गर्नेआइमाईलाई दण्ड दिइन्छ भन्ने त्रासलाई जीवन्त राखियो । मौनता स्विकारेकी आइमाईलाई पूजिता मानिने संस्कारको थालनी गरियो ।सामाजिकदण्डको डरले गर्दा आइमाईहरु आफ्ना इच्छा लुकाउने अभिनयमा पोख्त भए । त्यसपछि विद्वान्हरुले आइमाईका मनका कुरा कसैलाई थाहा हुँदैन भनेर ज्ञानका नयाँ अध्याय थपे । रामराज्यमा केटी जिस्क्याउने नरलीलाको रमाइलो नैतिक मानियो। नैतिकताको अभिभारा बोकेकाहरुका राक्षसी प्रवृति मर्यादित आचरण भनेर परिभाषित भए। आइमाईका शरीर, इच्छा र अभिव्यक्तिमाथि निषेधाज्ञा जारी गर्न परिपाटी निर्माण हुँदै गए । होइन त?’ मिनाक्षीका आँखा हाँस्दै थिए ।

लक्ष्मणलाई जवाफ आएन । बसेको ठाउँबाट उठेर हिँड्न मन लाग्यो ।
’तपाईँका पश्चिमा डलरकमाओवादी तर्क स्वतन्त्रतामुखी सुनिए पनि हाम्रो परिवेशमा अराजक…’ लक्ष्मणको कुरा मिनाक्षीको तर्कमा हरायो ।
’शूर्पणखाको कुरा मानेको भए सुखान्त रामायण लेखिन्थ्यो कि ? लौ, एकछिनलाई मानौँ शूर्पणखाले यौनप्रस्ताव ल्याई ! तर रतिसुखलाई आइमाईको हकमा चित्तवृति विकार भनेर किन बुझियो ?रामायणका युद्ध, वियोग, विरह, तिरस्कार, हिँसा, प्रतिहिँसा र अपमानका घटनाहरु त्यही बुझाइका कारण घटेका हुन सक्छन् !’
लक्ष्मणलाई लोकलाजको डर लाग्यो ।सोच्यो, ’बोल्दा लाज र अप्ठ्यारो भनेको फिटिक्कै मान्दिन यो । मुखमा जे आयो, प्याच्च भन्छे । शूर्पणखासितै बोल्ने ट्रेनिङ लिएर आएकी जस्ती छ ।’
वरिपरि हे¥यो । केही मानिस रमाइलो मानेर सुन्दै थिए ।
’मुखमा जे आयो, प्याच बोल्छे ! यसलाई जङ्गलको राक्षसीको हावाले छोएछ ।’
अरुले नसुन्ने गरी सानो स्वरमा भन्यो, ’तपाईँको कुरा सुन्दा लाग्छ जङ्गलको हावाको प्रभाव सहरमा पनि आउन थालेछ । हाम्री भाउजूलाई पनि जङ्गलको हावाले छोएको थियो। नत्र मौन अभ्यास रूचाउने भाउजू आत्मकथा लेख्ने मान्छे त होइन ।’
’जङ्गलको हावा स्वच्छ हुन्छ । प्राकृतिक हुन्छ । कृत्रिमता हुँदैन । त्यसैले जङ्गलको हावाको प्रभाव सहरमा सरेको राम्रो ।तर मैथिलीले किन आत्मकथा लेख्न सक्दिनन् ? आफ्नो कथा अरुले कसरीलेख्न सक्छन् ?कथा, गाथा, पुराण लेख्ने तपाईँहरु मात्रै ?’धकफुकाएर हाँसी मिनाक्षी । मिनाक्षीका झुम्कामाझुण्डिएकाहरिया पोते पनि हल्लिँदैसहमति जनाउन थाले।
’हेर्ने मान्छेले हामी झगडा गरेको भन्दा हुन् ।’उसले आफ्नो फोन खोल्यो । हेर्यो । बन्द गर्यो ।
अचानक नजिकै बजेको ठूलो हर्नले दुवैलाई झस्कायो ।
एकै छिनमाध्रुबेको हुटेल सुनसानजस्तो देखियो । वरिपरि थरीथरीका हर्न बज्न थाले । मिनाक्षी बसेको कुर्सीबाट उठी र भुईँमा राखेको ब्याग टिपेर हिँड्ने तर्खर गर्दै भनी, ’तपाईँसित वर्षौँपछि भेट भयो । तपाईँ अहिले पनि उस्तै हुनुहुन्छ । विचार, बुझाइ र सोचाइ पनि पहिलाजस्तै । हाम्राबीचका सहमति र असहमतिदुवै फरक दृष्टिकोण र फरक परिवेशका कारण बनेका होलान् । जे होस्, तपाईँसित भेटेर खुसी लाग्यो ।’ उसले बिदा मागी ।
लक्ष्मणको मन चसक्क भयो । खै किन मिनाक्षीको विचारसित असहमति रहे तापनि उसलाई मिनाक्षीको कुराकानी र साथरमाइलो लाग्न थालेको थियो । मिनाक्षीको स्पष्ट व्यक्तित्वले लक्ष्मणलाई नजानिँदो पाराले आकर्षित गर्न थालेको रहेछ ।

ऊ पनि उठ्यो, ’तपाईसित गफ गर्दा समय बितेको थाहा भएन । यात्राको रमाइलो भनेको यस्तै हो । कोसित कहाँ भेट हुन्छ थाहा हुँदैन । तपाईँले भनेजस्तै हाम्रा असहमति आफ्ना ठाउँमा छन् तर संवादको सम्भावना जारी राख्नुपर्छ । तपाईँ फेसबुकमा हुनुहुन्छ भने म तपाईँलाई ’एड’ गर्छु । तपाईको फोन नम्बर पाएँ भने चिया, कफी खाने निम्तो पठाइरहन्छु ।’ उसका चञ्चलऔँलाहरु मिनाक्षीको फोन नम्बर छाम्न लालायित थिए ।

’तपाईले चिन्नुभएनझैँ लागेकैथियो । साँच्चै मलाई चिन्नुभएनछ ! म मिनाक्षी…! अझै चिन्नुभएन ? वाल्मीकिले कामोत्तेजक कलङ्किनी भनेर चित्रण गरेकी पात्र मै हुँ । आइमाईहरुलाई तह लगाउन र नैतिक गरिमाको नियम लागू गर्न मेरो नाम मेटाएर राक्षसनी बनाए । मेरो वर्णनमा शब्द खर्चे… रौद्ररुप, विकृत, कुरुपिणी, दुर्मुख, कुनख , डरलाग्दी, काली, राक्षसी… आदि इत्यादि । शब्द खर्चे।’रातो नेलपालिस लगाएको नङ्ग्रा तेस्र्याउँदै, आँखी भौँ उचाल्दै अनौठो मुखाकृति बनाएर लक्ष्मणलाई तर्साउने अभिनय गरी ।
’शब्द आडम्बरमा आफ्नो सक्कली प्रतिबिम्ब नभेटेपछि विवस्त्र रामायण लेख्नु पर्ने बाध्यता भयो ।’ आँखा झिम्क्याउँदैउसलेलक्ष्मणलाई जिस्क्याई । आफ्नो ब्यागबाट चस्मा निकाली । उसका फक्रिएकासूरजमुखी आँखालाई निलो बादलले छोप्यो ।
लक्ष्मण झण्डै मुर्छा पर्यो ।
’हो त ! यो शूर्पणखा पो हो ! कहाँ देख्या भनेको त…. ? पहिलाभन्दा अलिक दुब्ली देखिन्छे । तर बोल्ने तरिका उस्तै ! हाँस्दा उस्तै !’ मिनाक्षीको अनुहार हेरेको हेरैभयो ऊ ।
’यस्तो बोलेको त सुनेको थिइनँ ? हुन त, त्यसबेला यसरी बोल्ने मौका थिएन !’ फोन समातेका उसका औँला पनि चल्न छाडे ।
मिनाक्षी बिदा मागेर हिँडी ।
दुई पाइला हिँडेपछि फरक्क फर्की र हाँस्दै भनी, ’अब शूर्पणखा भेट्न जङ्गल जान पर्दैन । अहिले त के गाउँ र के सहर ? मलाई भेट्न सजिलै छ । म त यत्र–तत्र, सर्वत्र भेटिन्छु । तपाईँ भेट्ने इच्छा मात्रै गर्नुहोस्, म हाजिर हुन्छु ।’
केही सोचेर फेरी फर्की र भनी,’बाई द वे, पहिला आफ्नो मनको कुरा भन्दा मदण्डित हुन पुगेकी थिएँ । अब त मैथिली पनि आफ्नो मनको बह पोख्दै छिन् । के गर्नुहुन्छ अब ? उसलाई पनि दण्ड दिनुहुन्छ ?फेरि,दण्ड दिँदा मैथिली र मिनाक्षीबीच फरक नरहला !अनि,दण्ड नदिँदा पनिनैतिक नियमहरु भत्किने डर ! राम्ररी विचार पुर्याउनुस है। ल, मत हिडेँ । बाई ।’
मिनाक्षी ध्रुबेको हुटेल लेखेको बोर्डतिर लम्किई । त्यहाँ पार्क गरेको रातो किया पिकान्टो कारको ढोका खोली । बोकेको ल्यापटपको ब्याग गाडीभित्र राखी । गाडीमा बसेर ढोका लगाई र गाडी स्टार्ट गरी ।
बाटोमापुगेर गाडीभित्रबाट लक्ष्मणलाई हात हल्लाएर फेरि’बाई’ गरी ।
एकैछिनमा पिकान्टो अरु गाडीको भीडमा हरायो ।
गाडीको टायरले उडाएको धूलो र मनमा मच्चिएको बबन्डर भुँमरीले लक्ष्मणलाई गल्र्याम्मै अँगालो मारेर धूलेम्वाइ खाए ।

चालकले खलासी भाइलाई माइक्रोंबस भित्र बसेका यात्रु गन्ने आदेश दियो । खलासी भाइले माइक्रोंबस भित्रका ठूला, साना टाउका गन्न थाल्यो ।
दुईचोटि गन्यो । एउटा टाउको अपुग रह्यो ।
तेस्रोेचोटि गन्यो । फेरि एउटा टाउको अपुग रह्यो ।
चालकलाई हतार लागेको थियो । बेस्सरी हर्न बजायो, एकछिनसम्म कुर्यो ।
झर्किँदै फेरि हर्न बजायो । तर कोही आएन ।
चालकले हराएको टाउकोलाई गाली बक्यो ।
माइक्रोंबस भित्र दोहोरी गीत घन्कायो र माइक्रोंबस स्टार्ट गर्यो ।

साभारः कठपुतला

Facebook Comments