सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनी

प्रकाशित मिति :   July 2, 2018           Sabasta Entertainment



Kumari bank

दयाराम दाहाल  —

नेपाली चलचित्र उद्योगमा अहिले स्पष्ट तरिकाले दुई तिर प्रत्यक्ष वा परोक्ष रुपमा शीतयुद्ध चलिरहेको छ । यो शीतयुद्ध नेपाली चलचित्रको स्तरोन्नती वा यसको बिकाश र प्रर्वद्धनको लागि नभएर नितान्त ब्यक्तिगत र समूहगत फाईदाको लागि भएको हो भन्दा गलत भनेको ठहरिन्न । किनभनेनेपाली चलचित्र उद्योगको इतिहास साक्षी छ, एकाधलाई छोडेर नेतृत्व लिने कसैले पनि आज सम्म नेपाली चलचित्र उद्योगको हितको लागि प्रत्यक्ष वा परोक्ष रुपमा लडाँइ लडेको देखिदैन । समय साक्षी छ जति पनि लडाँइ र आन्दोलन भए ति अधिकांश ब्यक्तिगत लाभ हानीको हिसाब मिलाएर टुङ्गिएका छन् । यसो भनिरहँदा कसैको मन दुख्ला तर यो कटु सत्य हो । एउटा आन्दोलनको जन्म हुन्छ, यस उद्योगका बिविध मागहरु अगाडी सारेर , अनि त्यो आन्दोलनमा सबै सिधासाधा चलचित्रकर्मीहरुलाई समाहित गराईन्छ । आन्दोलन अगाडी बढ्दै जान्छ गैरहन्छ । जब आन्दोलनले एउटा गति प्राप्त गरेर नतिजा निस्कने अवस्था आउँन लाग्छ तब नेपाली चलचित्र उद्योग भित्रै रहेर बिदेशी चलचित्रको पक्षपोषण गर्ने अनि यस उद्योग भित्रै क्रियाशिल बिचौलियाहरु सल्बलाउँन थाल्छन् । नेपाली चलचित्र उद्योगका स्वनामधारी नेताहरुलाई के चटनी चटाउँछन् थाहा छैन त्यसपछि त्यो उचाइमा पुग्न लागेको आन्दोलन कागलाई बेल पाक्यो हर्ष न बिस्मातको अवस्थामा गएर सिद्धिन्छ । स्वनामधारी नेताहरु हामीले निर्माता तथा चलचित्रकर्मीहरुको पक्षमा सम्झौता गर्यो  हाम्रो जीत भयो भनेर मिडियामा गर्जन्छन् ।

 

थाहा छैन उनिहरुले के जीते ? तर नेपाली चलचित्र उद्योगले कहिल्यै पनि जितेन । सिधासाधा चलचित्रकर्मीहरुको आन्दोलन प्रतिको एैक्यबद्धताले कुनै प्रतिफल प्राप्त गर्दैन किनकी उनिहरु केवल मोहरा मात्र बनाईएका हुन्थे भिड देखाउँन, गन्तिको सङ्ख्या पुर्याउन मात्र त्यहाँ उनिहरुलाई प्रयोग गरिन्छ । उनिहरुका टाउका गनिन्छ, सुनौलो भविष्यको सपनाका भारी बोकाईन्छ अनि धपाईन्छ । जब ति सिधासाधा चलचित्रकर्मीहरुका चलचित्र प्रदर्शन गर्ने बेला आउँछ तब तिन्का चलचित्रले देशभरिका सिनेमा घरहरुमा राम्रो संग दर्शन गर्न पनि पाउँदैनन् , पर्दामा प्रदर्शन त टाढाको कुरा । अनि बिचरो बनेर ऋणको भारी बोक्दै पलायन हुनु बाहेक उ संग अर्को बिकल्प बाँकी रहँदैन । राम्रा सिनेमा घरहरुमा ‘शो’ केवल स्वानमधारी नेताहरु र सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका समर्थकहरुले मात्र प्राप्त गर्दछन् । आन्दोलन हड्ताल सबै कुराको प्रतिफल छत्रछायाँ र गुट–उपगुटको वरिपरी मात्रै पोखिन्छ ।

अझ अर्को विडम्वना सिधासाधा चलचित्रकर्मीहरुका चलचित्रलाई राम्रो र नराम्रोको निर्णय गर्ने अधिकार दर्शकको हातमा दिंईदैन किनभने दर्शकहरु जाने हलमा ति चलचित्रलाई‘शो’ नै उपलब्ध हुंदैन । ति सिधासाधा चलत्रिकर्मीका चलचित्रलाई सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका विचौलियाहरुले राम्रो छैन चल्दैन भनेर बीच बाटो बाटै निरुत्साहित पारिदिन्छन् । ज–जसले सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका हरेक साँठगाँठमा सहिछाप थिचेका छन्। उनिहरुले ति विचौलियाहरुको अवहेलना र प्रताडना सहनु पर्दैन । आफैं धामी आफैं बोक्शी बनेर सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका विचौलियाहरुले नेपाली चलचित्र उद्योगमा संघर्षरत सिधासाधा चलचित्रकर्मीहरुलाई अनावश्यक तनाव र अवहेलना बक्शिस दिन्छन् ।

नेपाली चलचित्र उद्योगका केहि टाठाबाठा अनि स्वनामधारी नेतागण तथा ति सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका अन्ध समर्थक चलचित्रकर्मीका चलचित्रहरुलाई प्रदर्शनको सेटिङ्ग मिलाईदिने बाहेक अघोषित तर अति सक्रिय सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीले नेपाली चलचित्र उद्योगको हितमा सिन्को पनि भाँचेको देखिदैंन बरु नेपाली चलचित्र र बिदेशी चलचित्रका बिचमा वर्गयुद्ध गराउँन यिनिहरुको विषेश भूमिका रहने गरेको छ । यो अघोषित सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीको वकालत र पालनपोषण गर्नेहरु हिजोका दिनमा यहि नेपाली चलचित्र उद्योगभित्र रहेर नेपाली चलचित्रकै दानापानी खाएर हुर्किएका महामानवहरु हुन् । कुनै दिन यिनिहरुनै एक नम्बरका राष्ट्रवादी कहलिन्थे,राष्ट्रिय चलचित्र उद्योगका बारेमा यिनिहरु कुर्लिएको आवाज सुन्दा यस्तो लाग्थ्यो, यिनिहरुले साँच्चैनै नेपाली चलचित्र र चलचित्रकर्मीलाई अन्तराष्ट्रिय स्तरमा नै पुर्याउँछन् । यो देशमा चरमचूलिमा रहेको बिदेशी चलचित्रको सहज हस्तक्षेपलाई अन्त्य गर्छन् । यो विश्वास थियो सिधासाधा चलचित्रकर्मीहरुमा । तर कालान्तरमा राष्ट्रिय चलचित्र उद्योगको हित भन्ने उनिहरुको मुद्धा त केवल आफु र आफ्ना गुटकालाई वलियो वनाउँने हतियार मात्र सावित भयो । जव उनिहरुले त्यो हतियारको प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गरे तब उनिहरुले राष्ट्रिय चलचित्र उद्योगका बारेमा कुरै गर्न छोडिदिए। उनिहरुको राष्ट्रिय चलचित्र उद्योग प्रतिको सर्मथन हात्तीको देखाउँने दाँत जस्तो मात्र रहेछ । भित्र लुकाएको दाँतले, अघोषित सिण्डिकेट खडा गरेर आज सिधासाधा चलचित्रकर्मीका चलचित्रहरुलाई उनिहरुले चपाईरहेका छन् । अनि ति सिधासाधा चलचित्रकर्मीका चलचित्रहरु अनाहकमा निर्मम मृत्युवरण गर्न बाध्य छन् ।

आज बक्स  अफिस भन्ने जादुको छडि तिनै सिण्डीकेटवालाहरुको चेपुवामा परिरहेको छ । यसभित्र यति धेरै किचलो र राजनीति भैरहेको छ कि राष्ट्रिय चलचित्र उद्योग भित्र अस्तित्व र पहिचानको, समावेसी प्रदर्शन र समतामुलक अवसरको आन्दोलन अब विस्तारै वर्गयुद्ध तर्फ अघि बढिरहेको टड्कारो देखिन्छ । यो वर्गयुद्धमा अब निश्चित रुपमा दुई ध्रुव रहनेछन् , एकातर्फ नेपाली चलचित्र वर्ग र अर्को तर्फ बिदेशी चलचित्र वर्ग ।

आफ्नै देशभित्र आफ्नै राष्ट्रिय भाषाका चलचित्रहरुले आफ्नो अस्तित्व र पहिचानका लागि युद्ध लड्नु पर्ने अवस्था सिर्जना गर्न खोजिनुवास्तबमै हृदयविदारक अनि ठुलो विडम्बना हो । वर्गयुद्ध गराउँन अनेकौं वहाना र वातावरण तयार गरिएको छ, दिन प्रतिदिन नेपाली चलचित्रहरुलाई कमजोर सावित गराउँन खोजिँदैछ । त्यहि भएर सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका समर्थक र गुट भन्दा बाहिरका चलचित्रकर्मीहरुका चलचित्रलाई प्रदर्शनको उचित वातावरण प्रदान गरिँदैन् यदि लोकलाजले केहि शोहरु उपलब्ध भए पनि दर्शकहरु हलमा नआउँने शो, या त एका बिहानैको, या त रातको शो दिएर तेरो चलचित्रमा दर्शक नै आएनन् भनेर निराश पारेर उद्योग बाटै बिदा गरिदिन्छन । त्यहि भएर त यी सिण्डीकेटवालाहरु सलमान खानको पोष्टरमा धुप बालेर आरती गर्छन अनि राजेश हमाल, शिब श्रेष्ठ, सरोज खनाल लगाएतका पोष्टरहरु च्यातेर रद्धिको टोकरीमा फ्याँकिदिन्छन् । यिनलाई जे गरेर जसो गरेर पनि केवल पैसा मात्र प्यारो छ राष्ट्रिय चलचित्र उद्योगको हैन । यिनका समर्थक र सल्लाहकारहरुलाई अलिअलि प्रवेशको छुट दिनु बाहेक यि सिण्डीकेटवालाहरुले अधिकांश चलचित्रकर्मीका चलचित्रलाई चलचित्रको श्रेणीमै गणना गर्दैनन् । आफुलाई स्वर्गबाटै सृष्टिकर्ताको आदेश लिएर धर्तीमा अवतरित निर्णयकर्ता भगवान ठानेर यिनले अधिकांश चलचित्रहरुलाई चलचित्र भवनको दर्शन नै गर्न नदिइ बिच बाटो बाटै तिरस्कार गरेर फर्काइदिन्छन ।
यी सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका विचौलियाहरुले नेपाली चलचित्र राम्रो हो या नराम्रो छुट्टाउने जिम्मा दर्शकलाई दिदैंनन् , आफैं स्वघोषित विज्ञ बनेर निर्णय गर्छन् । यिनिहरुले आफैं विज्ञ बनेर प्रदर्शनको लागि शो उपलब्ध गराएका आफ्ना गुट संरक्षित कति चलचित्रले दर्शकको मन जिते ? कति निर्माताहरुले अर्थोपार्जन गरे ? जवाफ स्पष्ट छ एकाध चलचित्र बाहेक यिनिहरुले छानेर प्रदर्शीत सगंठित सिण्डिकेटवालाहरुका अधिकांश चलचित्रहरुले पानी पनि मागेका छैनन् अनि यी सिण्डिकेटका विचौलिया र गुट संरक्षितहरु, नेपाली चलचित्रलाई राम्रो नराम्रो भनि वर्गविभाजन गरेर प्रदर्शनको आदेश दिने वा नदिने स्वघोषित न्यायधिश कसरी बने ? महाशयहरु तपाइहरुले सिनेमाघरमा नेपाली चलचित्रकाृे प्रदर्शनलाई निर्वाध प्रवेश दिनुस, बिदेशी चलचित्रलाई जो सुकै स्टारर भए पनि काखी च्याप्न अलि कम गर्नुस, केवल पैसैका लागि राष्ट्रिय चलचित्रको घाँटी निमोठेर बिदेशी चलचित्रलाई अगांलो मार्न बन्द गर्नुस, नेपाली चलचित्र राम्रो छ वा नराम्रो स्तरिय छ वा तलको, आधुनिक युगको हो कि प्राचिनयुगको यी तमाम कुराहरुको निर्णय गर्ने अधिकार दर्शकहरुमा नीहित छ उनिहरुनै वास्तविक रुपमा एउटा चलचित्रका लागि न्यायधिश हुन् भगवान हुन् त्यसैले फैशला गर्ने अधिकार दर्शकहरुकै जिम्मामा दिउँ । अनि आफुचाँही साच्चिकै राष्ट्रवादी र राष्ट्रिय चलचित्रलाई माया गर्ने कित्ता तिर प्रव्ेश गरौँ । भगवान बन्न छोडेर पैसालाई हैन देशलाई माया गर्ने असल मान्छे बन्ने सन्मार्गतिर लागौं ।

अर्कोतर्फ नेपाली चलचित्रलाई माया गर्नेहरुकै बिचमा पनि यी सिण्डिक्टवालाहरुले विभाजन गराएका छन् ता कि उनिहरुका विरुद्धमा संंंंगठित आन्दोलन गर्न नसकुन भनेर । अवसर प्राप्त गर्नेहरु चुप छन अवसर प्राप्त गर्नै नसक्नेहरु पलायन भै रहेछन् । यहि कारण आज नेपाली चलचित्र उद्योग पुर्ण रुपमा सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीको आदेश र अधिनमा मात्र अगाडी बढ्ने अवस्था सिर्जना भएको छ । यिनिहरुले शुरु गराएको वर्गयुद्धमा राष्ट्रवादी धार कमजोर देखिएको छ, बिदेशी चलचित्रको पक्षपोषण गर्नेहरुको संंगठितसिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीको धार दिनानुदिन बलियो हुदै गै रहेको छ , यो अवस्थामा पुराना तथा नया सबै शोषित पीडित र प्रर्दशनको राम्रो अवसर बाट बञ्चित चलचित्रकर्मीहरु बिच एैक्यबद्धताको जरुरी छ । अन्यथा नेपाली चलचित्रकै नाममा अनि राष्ट्रिय चलचित्र उद्योगकै नाममा यी सिण्डिकेटधारी र यिनका गुटका भक्तहरुको नेपाली चलचित्र माथिको थिचोमिचो र भेदभाव दिन दुईगुणा रात चौगुणा बढेर जानेछ । नेपाली चलचित्र उद्योग एउटा गुट भित्र मात्र सिमित रहनेछ । जव सम्म राष्ट्रवादी धार कमजोर रहन्छ तब सम्म सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनी र यसका विचौलियाहरुको ब्यबहार नेपाली चलचित्र प्रति कहिल्यै सकारात्मक रहने छैन । फुटाउ अनि राज गरको साम्राज्यवादी परम्परालाई निरन्तर कायम राख्नेछन् , नेपाली चलचित्र निर्माणकर्तालाई नै साथमा लिएर अनि एकाध निर्माताहरुको माग पुरा गरिदिएर उनिहरुकै बलमा सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनीका हनुमानहरुले बाकि नेपाली चलचित्रकर्मीहरुलाई सधैं अवहेलना र थिचोमिचो गरिरहनेछन् । त्यसैले अब पनि समयमै सचेत भएर यसका बिरुद्ध आवाज नउठाउँने हो भन, यसकोे यसको विरुद्ध ठोस कदम नचाल्ने हो भने, राष्ट्रिय चलचित्र उद्योगका चलचित्रकर्मीहरुले आफ्नो अस्तित्व जोगाउँन उनिहरुकै कोटरीमा गएर जय सिण्डीकेट प्राइभेट लिमिटेड कम्पनी भन्दै उनिहरुकै भजन गाउनु बाहेक अरु कुनै विकल्प बाँकी रहने छैन, सम्पुर्ण राष्ट्रिय चलचित्र चलचित्रकर्मीहरुलाई चेतना भया ।

 

            

 

 

 

Facebook Comments